प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन्।
सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उल्लेख गरे। सिद्धान्त र राजनीतिक एजेन्डामा केन्द्रित नहुने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा राजनीतिक कोर्स परिवर्तन गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ छ।
नयाँ पार्टीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्रीले पुराना पार्टीहरूको भन्दा राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने गरी कोही आए उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको प्रस्ट पारे। तर, अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको जिकिर गर्दै उनले अहिले देखिएको अराजकताप्रति हेल्चेक्र्याइँ गरे देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे।
‘मैले कहिलेकाहीँ भन्ने गर्दछु, हाम्रोभन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रोभन्दा धेरै त्याग तपस्या गरेका दलहरू कोही अघि आउने, हाम्रोभन्दा राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न, तिनीहरूको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन,’ उनले भने, ‘तर म हजारौँपटक विचार गर्छु, त्यस्तो स्थिति छैन। हामीले अलिकति पनि हेलचेक्र्याइँ गर्ने हो भने यो सिस्टम मात्रै होइन, यो देशकै भविष्य अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलराइजेसनको जो प्रक्रिया जुन दुनियाँमा चलिरहेको छ, त्यसलाई हेर्दा र त्यसभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिँदै छ।’