बार र अदालत प्रशासन आमनेसामने, दुवै पक्ष आन्दोलनमा

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपिट भएको घटनापछि अदालत कर्मचारी र बार दुवै आन्दोलित भएका छन् । आइतबार सर्वोच्च अदालतसहितका केही अदालतमा कर्मचारीहरूले आन्दोलनस्वरुप खाजा समय अघिसम्म कामकाज ठप्प पारे । अर्कोतिर, नेपाल बार एसोसिएसनले सोमबारबाट बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने घोषणा गर्यो ।

जिल्ला अदालतमा विचाराधीन एक मुद्दाका वारेस तथा अधिवक्ता अमिर लामिछानेले आफूमाथि कुटपिट गरेको आरोप अदालतकी नासु तामाङले लगाएकी छिन् । १३ असार साढे ४ बजेतिर भएको उक्त घटनापछि जिल्ला अदालतका कर्मचारीहरूले यसको विरोध गर्नुका साथै अदालतको अवहेलनामा कारवाही सुरु गर्न शाखा अधिकृतबाट प्रतिवेदन पेस भएको थियो । अधिवक्ता लामिछानेउपर अभद्र व्यवहारको कसुरमा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । उनी आइतबार साँझ साधारण तारेखमा छुटेका छन् ।

‘सेवा दिने क्रममा मिसिल हेर्नसमेत नदिइएपछि विवाद सुरु भएको थियो । सुरुमा सरकारी कर्मचारीले नै हात हालेका हुन् । सिसिटिभी फुटेज भएको भए देखिने थियो,’ ललितपुर बार एसोसिएसनका अध्यक्ष राम श्रेष्ठले भने, ‘झुठा जाहेरीका आधारमा पाँच दिन हिरासतमा बसेर उहाँ सामान्य तारखेमा छुट्नुभएको छ ।’ अधिवक्ता लामिछानेसँग घूस मागेपछि नदिएको र भनाभन हुँदा नासु तामाङले नै हात उठाएको अध्यक्ष श्रेष्ठको आरोप छ ।

अध्यक्ष श्रेष्ठले भने, ‘घूस मागेको जाहेरी दरखास्त जाउलाखेल प्रहरीमा बुझाएका छौँ । दर्ता त भएको छैन, अध्ययन गर्छौँ भन्नुभएको छ ।’ ललितपुर बारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनको रिहाइको माग गरेको थियो । यसबीचमा पाटन उच्च अदालत बारबाट पनि उस्तै मागसहितको विज्ञप्ति जारी भएको छ ।

नासु तामाङका अनुसार वारेससमेत रहेका अधिवक्ता लामिछानेले मुद्दाको मिसिल तानेर आफैँले हेर्न थालेपछि उनले कागजात हराउने भन्दै त्यसो गर्न रोकेकी थिइन् । त्यसपछि तथानाम भन्दै गालीगलौज गर्नुका साथै कुटपिट गरेको उनको भनाइ छ । घटनापछि तामाङले ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसमा कुटपिटबाट ओठ फुटेको, दाँत हल्लिएको र सर्ट च्यात्तिएको उल्लेख छ ।

शुक्रबार जिल्ला अदालत ललितपुरका कर्मचारीले विज्ञप्ति निकाल्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको तथा कार्यस्थलमा कर्मचारीहरूको सुरक्षाको विषय चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरेका थिए । अदालत प्रशासनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानूनबमोजिम कारवाहीको दायरामा ल्याउन अदालत प्रशासन प्रतिबद्ध रहेको र यस कार्यमा सहयोग र समन्वय गर्न तथा आउने दिनहरूमा अदातलभित्र कर्मचारीहरूमा बिना डर त्रास सुरक्षित महसुस गरी कार्य गर्ने वातावरण सिर्जना गर्ने पहलकदमीको लागि सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध गर्दछौँ ।’

घटनाका विषयमा जिल्ला अदालतमा अदालतको अवहेलनाको निवेदनसमेत दर्ता भइसकेको छ । घटना भएकै दिन नासु तामाङले अदालतको काम र न्याय सम्पादनमा असर पु¥याएको भन्दै उक्त कार्य अवहेलनाजन्य भएका कारण आवश्यक कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।

‘..तारेख लिने क्रमममा निज विपक्षी प्रतिवादी वारेसले मिसिल तानी आफैँ कागजातहरु पल्टाइ हेर्न थालेकोमा मिसिल नहेर्नुस्, कागजातहरू हराउँछन्, अहिले भिडभाड छ । तपाईंलाई आवश्यक भए नक्कली सारी हेर्नुहोला भनेकोमा निजले तँ धेरै जान्ने हुन्छेस्, तँ को होस् ? तँलाई देखाउँछु भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपातसमेत गरेको कारणले मेरो मुख र पाखुरामा समेत घाउचोट लागेको, शर्टसमेत च्याति कार्यालयको काम तथा न्याय सम्पादनमा समेत अवरोध पुर्याई अदालतको अवहेलना गरेको हुँदा निज विपक्षीलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) अनुसार हदैसम्मको सजाय तथा जरिवाना समेत गरीपाउँ,’ निवेदनमा छ । सोही मितिमा उक्त अदालतकी शाखा अधिकृत बस्नेतसमेत १६ जना कर्मचारीले अवहेलनाको निवेदन दर्ता गराएका छन् ।

ललितपुर अदालतका कर्मचारीहरूले शुक्रबार नासु तामाङमाथि भएको घटनाको भत्र्सना गर्दै अमानवीय र आपराधिक कार्य गर्नेलाई उन्मुक्ति नदिन ध्यानाकर्षण गराएका थिए । सोही दिन ललितपुर बार एसोसिएसनले विज्ञप्ति निकाल्दै सिसिटिभी फुटेज हेरी प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । शुक्रबार बारका साथै, अदालतका कर्मचारी, न्यायाधीश र नासु तामाङबीच छलफल भएको थियो । तर, अदालत प्रशासनले सिसिटिभी बिग्रिएकाले मर्मतका लागि सर्वोच्च पठाइएको जनायो ।

‘अदालतमा जस्तोसुकै समस्या र विवाद आए तापनि सेवा प्रवाह र न्याय सम्पादन कार्यलाई केन्द्रमा राखेर बार बेञ्चबीच छलफल, सहमति र सहकार्य हुनुपर्नेमा सो नभइ अदालत परिवारभित्रका सामान्य विवादमा एक कानून व्यवसायीलाई पक्राउ गरी हिरासतमा राख्नु दुःखद कुरा हो । तसर्थ उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कानूनबमोजिम कारवाही गर्न र निज अधिवक्ता अमिर लामिछानेलाई तत्काल रिहाई गर्न ललितपुर बार एसोसिएसन जोडदार माग गर्दछौँ,’ इकाइ सचिव छोनाम मोक्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कर्मचारीको माग : अधिवक्ताविरुद्धको कारवाहीमा हस्तक्षेप नहोस्
देशभरका अदालतका कर्मचारीहरूले आइतबार ललितपुर घटनाको विरोधमा आधा दिन कामकाज ठप्प बनाएका छन् । शुक्रबार कर्मचारीहरूको संगठनले विज्ञप्ती जारी गर्दै आइतबार बिहान १० देखि दिउँसो साढे १ बजेसम्म कामकाज नगर्ने जनाएका थिए । सोहिअनुसार आन्दोलनको कार्यक्रम चलेको थियो ।

आन्दोलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न वारेसलाई कानुनबमोजिम हिरासतमा राखी जाहेरी दरखास्त बमोजिम अनुसन्धान गर्न म्याद थपसमेत भइसकेको र ललितपुर जिल्ला आलतमा अदालतको अवहेलनामा कारवाही समेत अगाडि बढिसकेको हुँदा यसमा कसैबाट हस्तक्षेप र अवरुद्ध गर्ने प्रयास भएमा अन्य सशक्त आन्दोलनका कार्यक्रमहरू ल्याउन बाध्य हुने कुरा समेत जानकारी गराउँदै यस किसिमका घटनाहरूलाई निरुत्साहित गर्न र समग्र सार्वजनिक सेवाको क्षेत्रमा काम गर्न सुरक्षित वातावरणको अवस्था कायम राख्न सम्बन्धित सबै पक्षहरूलाई हार्दिक अपिल गर्दछौँ ।’

कर्मचारी युनियनहरूले यस अघि कार्यालयमा कर्मचारी सुरक्षित रहने वातावरण बनाउन र अधिवक्ता लामिछानेलाई कारवाही अघि बढाउन माग गर्दै विज्ञप्ती जारी गरेको थियो । ललितपुर जिल्ला अदालतका कर्मचारीहरूका साथै सर्वोच्च अदालत र अन्य सरकारी सेवामा रहेका कर्मचारीहरूको संगठनले विज्ञप्ति निकाल्दै उस्तै माग गरेका थिए ।

शुक्रबार अदालतका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन अदालत प्रशासन प्रतिबद्ध रहेको र यस कार्यमा सहयोग र समन्वय गर्न तथा आउने दिनहरूमा अदातलभित्र कर्मचारीहरूमा बिना डर त्रास सुरक्षित महसुस गरी कार्य गर्ने वातावरण सिर्जना गर्ने पहलकदमीको लागि सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध गर्दछौँ ।’

अधिवक्ताको जाहेरी दर्ता गर : बार
नेपाल बार एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटना भएको समयको सिसिटिभी फुटेज सार्वजनिक हुनुपर्ने र अधिवक्ता लामिछानेले पेस गरेको जाहेरी दर्ता हुनुपने बताएको छ । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा लामिछानेको निःशर्त रिहाइ माग गरिएकोमा उनी रिहा भइसकेका छन् । घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्नुका साथै न्यायिक स्वच्छता कायम गर्नुपर्ने, अदालतमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग बारको छ । आफूविरुद्ध सिसिटिभी प्रमाण भएकाले ललितपुर जिल्ला अदालतले सार्वजनिक नगरेको बारको भनाइ छ ।

‘कर्मचारीले आवेगमा आइ कानून व्यवसायीमाथि हातपात गर्ने कार्यले किमार्थ पनि अदालतको जनआस्था अभिवृद्धि हुन सक्दैन । तसर्थ, अदालतमा कार्यरत कर्मचारीले पद अनुकूलको आचरण पालना गर्नुपर्नेमा आफ्नो पदीय जिम्मेवारी र भूमिकाको ख्याल नगरी उत्तेजित भइ आफ्नो पक्षका तर्फबाट कागजातहरू माग गर्दा एक कानून व्यवसायीप्रति गरिएको अमर्यादित व्यवहारको नेपाल बार एसोसिएसन घोर भत्र्सना गर्दछ,’ बारको विज्ञप्तिमा छ ।

साथै, कृत्रिम मुद्दा लगाई अधिवक्ता लामिछानेलाई थुनिएको भन्दै बारले सांकेतिक विरोधस्वरूप ६ बुँदे माग राखी १८ असार (सोमबार) देशभरका अदालतहरूमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पैरवी नगर्ने निर्णय गरेको छ । नासु तामाङले आदेश हेर्न चाहेका अधिवक्ता लामिछानेसँग घूस मागेको र लामिछानेले इन्कार गर्दा उल्टै दोषारोपण गरेको बारको ठहर छ । यो घटनालाई दुखद र न्यायालयको स्वच्छता तथा गरिमालाई धुलिसात् गरेको विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार