एकपटक एकजना विद्यार्थीले प्रिन्सिपलसित आफ्नो घडी हराएको गुनासो गर्यो । प्रिन्सिपलले बुझ्दा घडी हराएको समयमा उसको कक्षाकोठाका विद्यार्थीबाहेक त्यहाँ कोही पस्न सम्भव देखिएन । उनले कक्षाका सबै विद्यार्थीलाई एक स्थानमा लाममा उभिन लगाए । सबैलाई आँखामा पट्टी बाँध्न लगाए । प्रिन्सिपल सबैको खल्ती छाम्दै अघि बढे । एकैछिनमा घडी भेटियो । उनले सबैको खल्ती छामिसकेपछि घडी सम्बन्धित विद्यार्थीलाई बुझाइदिए ।
घडी चोरी गर्ने विद्यार्थीको सातो गयो । अब प्रिन्सिपलले सबैलाई भनिदिन्छन्, कलेजभरि आफूले गरेको चोरीबारे सबैले थाहा पाउँछन् भनेर ऊ निकै डरायो । तर, दिनहरू बित्दै गए, यस विषयमा कसैले कुनै प्रश्न गरेनन् । कलेज जीवन सकियो, सबै विभिन्न काममा संलग्न भए । घडी चोरी गर्ने विद्यार्थी एउटा ठूलै कम्पनीको मालिक बन्यो
ऊ सफल पनि भयो । एकपटक उसलाई सम्मान गर्ने कार्यक्रम थियो । त्यहाँ कलेजका तिनै प्रिन्सिपल पनि आएका थिए । प्रिन्सिपललाई नजिक पाउनासाथ उसले भन्यो– ‘सर, आज म जहाँ छु, त्यसका लागि तपाईंको ठूलो हात छ । यसका लागि हजुरलाई धेरैधेरै धन्यवाद !’ उसका कुरा सुन्दा प्रिन्सिपल छक्क परे । उनले त्यसको कारण सोधे । उसले भन्यो– ‘सर, हजुरले मैले घडी चोरेको थाहा पाएर पनि कसैलाई भनिदिनुभएन । मलाई सुध्रने मौका दिनुभयो । र, आज म यहाँ छु । हजुरले त्यो सब भनिदिनुभएको भए म त्यतिखेरै आत्महत्या गर्ने थिएँ । हजुरको यो गुन जीवनभर भुल्नेछैन सर !’
प्रिन्सिपलले छक्क पर्दै प्रश्न गरे– ‘ओहो ! त्यो विद्यार्थी तिमी थियौ, जसको पकेटमा घडी थियो ?’ विद्यार्थीले जवाफ दिए– ‘हो सर, तर तपाईंले मलाई कति छिटै भुल्नुभयो ?’ प्रिन्सिपलले भने– ‘तिमीहरूका आँखामा पट्टी बाँधिसकेपछि मैले पनि मेरा आँखामा पट्टी बाँधेको थिएँ । म चाहन्नथेँ, मेरो कुनै विद्यार्थी एउटा सानो गल्तीका कारण मेरो नजरबाट जीवनभर गिरोस् र अपराधबोध गरेर लज्जित भइरहोस् ।’ प्रिन्सिपलका कुरा सुन्दा ती विद्यार्थीका आँखा रसाए । उनले आफ्ना प्रिन्सिपललाई जोडले अँगालो हाले ।