पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतबार स्वदेश र्फर्किएका हुन्।
त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलन बोल्दै चीन भ्रमण फलदायी भएको बताए। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको उनले जानकारी गराए।
चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र यी विषयमा चीन सरकात्मक रहेको उनले बताए।
व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताउँदै उनले चीन सरकारसँग सम्झौता भएको बीआरआई कार्यान्वयनको विषयमा चासो राखेको जानकारी गराए।
उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौं रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरु गर्न आग्रह गरेको बताए। उनका अनुसार भैरहवाभन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार छ।
उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार चीन भ्रमणमा गएका थिए।