नयाँ ब्रोकरले असारभित्र कारोबार गर्ने तयारी

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

लाइसेन्स पाएका १८ मध्ये १७ ब्रोकर कम्पनीले नेप्सेबाट पाए आशयपत्र

नयाँ धितोपत्र ब्रोकर कम्पनीहरू यसै महिनाभित्र कारोबार सुरु गर्ने तयारीमा जुटेका छन् । नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका हुन् ।

बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई चरणमा गरी १८ वटा कम्पनीलाई कारोबार अनुमतिपत्र (लाइसेन्स) दिएको छ । लाइसेन्स पाएकामध्ये पहिलो चरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट भोले गणेश सेक्युरिटिज क्यापिटल, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज प्रालि, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी विजार्ड सेक्युरिटिज र श्री क्यापिटल म्याक्स सेक्युरिटिज गरी सातवटा कम्पनीले अघिल्लो महिना नै आशयपत्र पाएका थिए ।

बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीमध्ये शुक्रबार मात्रै १० वटा कम्पनीले नेप्सेबाट आशयपत्र पाएको नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार पहिलो चरणमा आशयपत्र पाएकाहरूले यसै महिनाको अन्तिमतिर कारोबार सुरु गर्ने र शुक्रबार आशयपत्र पाएकाले भने कारोबार सुरु गर्न अझै १५ दिनभन्दा बढी लाग्नेछ । उनले भने, ‘११ मध्ये केबिएल सेक्युरिटिज सम्पर्कमै आएन, बाँकी १० कम्पनीले आशयपत्र पाएका हुन् ।’ 

न्यु ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले कम्पनीबाट ब्रोकर कारोबार सुचारु गर्नका लागि तयारी अवस्था रहेको बताए । उनले भने, ‘हामी तयार छौँ, नेप्सेबाट सन्तोषजनक ढंगले जति छिटो गतिमा काम अघि बढ्नुपथ्र्यो, त्यो गतिमा अघि बढ्न सकेको छैन ।’ नयाँ ब्रोकर लाइसेन्स नदिन संसदीय अर्थ समितिले एक हप्ता रोक्का गरेर ५ असारमा वितरणका लागि निर्देशन दिएको थियो ।

See More On

सुझावित समाचार