गुरु नानक विभिन्न गाउँ गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुगे । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुब सेवा गरे । जाने वेलामा प्रसन्न भई गुरु नानकले गाउँलेलाई आशीर्वाद दिए, ‘तिनीहरूको गाउँ छिटै उजाड होस् र तिमीहरू सबै अलग–अलग गाउँमा गएर बस्नुपरोस् ।’
गुरु नानकका शिष्यलाई उनको यस्तो भनाइप्रति आश्चर्य लाग्यो, तर उनीहरूले मुख फोरेर केही सोधेनन्् । सो गाउँबाट बिदा भएर जाँदै गर्दा उनीहरू फेरि अर्को गाउँमा पुगे । त्यहाँका मानिस धेरै स्वार्थी र उपद्रवी थिए । त्यहाँका मानिसले उनीहरूको आदर सत्कारको त कुरै छोडौँ, कसैले उनलाई बस्न आग्रहसमेत गरेनन् । केही मानिसले त उनलाई ढुंगाले समेत हिर्काए ।
यति भए पनि उनले ती गाउँलेलाई आशीर्वाद दिए, तिमीहरूको गाउँ आबाद रहोस् र तिमीहरू सदा यसै गाउँमा बस्नू ।’ उनको यस्तो आशीर्वाद सुनिसकेपछि यसपटक भने उनका शिष्य चुप लागेर बस्नै सकेनन् । उनीहरूले सोधे, ‘गुरु ! जुन गाउँमा तपाईंको स्वागत सत्कार भयो, त्यहाँका मानिसलाई तपाईंले गाउँ नै उजाड हुने श्राप दिनुभयो र जुन गाउँका मानिस असभ्य छन्, उपद्रवी छन्, उनीहरूलाई चाहिँ तपाईंले आबाद हुने आशीर्वाद दिनुभयो । यस्तो किन ? हामी बडो अलमलमा पर्यौँ गुरु ।’
शिष्यहरूको जिज्ञासा सुनिसकेपछि गुरु नानकले उनीहरूलाई बुझाउँदै भने, ‘राम्रा मानिसले जहाँ गए पनि राम्रो कुरा सिकाउँछन् । यदि नराम्रा मानिस आफ्नो गाउँ छाडेर अर्को गाउँमा गए भने उनीहरूले नराम्रो कुरा नै सिकाउँछन् । त्यस्तो भयो भने नराम्रो मात्र फैलिनेछ । यसैले मैले राम्रो मानिसको बस्तीलाई उजाडियोस् भनेँ, ताकि उनीहरू चारैतिर फैलिऊन् र केही राम्रो कुरा सिकाऊन् । नराम्रा मानिस एउटै गाउँमा बसून् ताकि उनीहरूले आफ्नो दुर्गुणको प्रचार गर्न नसकून् ।’ गुरु नानकका यस्ता कुरा सुनेर शिष्यहरू दंग परे ।