संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनुहुँदैन : अध्यक्ष तिमिल्सिना

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउन नहुने बताएका छन्। शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘पक्ष–प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्नेसम्मको कडा हुन्छ । रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनुहुँदैन। त्यस्तो विषय बनाउनुहुँदैन,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले संसदमा विषयवस्तुहरू राख्दा आफूलाई ग्लानि हुने किसिमको नबोल्न सांसदहरूलाई आग्रह गरे। ‘आफूले संसदमा बोल्दा अग्रजहरूले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकून्। यस्तो नहोस् कि आफूले बोलेको कुरा दुई वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानि हुने गरेर नबोल्नुहोला,’ उनले भने।

संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्नेमा उनको जोड थियो।

सुझावित समाचार