राष्ट्रिय महिला आयोगका पदाधिकारीबीचको कटुता छताछुल्ल

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

सांसदहरूलाई बोलाएर आफैँले गरेको कार्यक्रममा आरोप–प्रत्यारोप

राष्ट्रिय महिला आयोगले बिहीबार बानेश्वरमा नीतिगत तहमा महिलाको पहुँचसम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । संघीय महिला सांसद र समितिका सभापतिसँग सुझाव लिन र अन्तरक्रिया गर्न आयोजित कार्यक्रममा आयोगका सदस्यबीचको तिक्तता सार्वजनिक रूपमै पोखियो । 

कार्यक्रममै आयोगकी सदस्य विद्या सिन्हाले आफूमाथि अन्याय भएको भन्दै पटकपटक आक्रोश पोखिन् । सबै सदस्यहरूको हैसियत बराबर भए पनि आफूमाथि विभेद भएको सिन्हाको भनाइ थियो । अर्का सदस्यले समावेशिता तथा नागरिकताका मामिलामा जथाभावी बोल्दै हिँड्दा आफूलाई त्यसको जिम्मेवारी लिन अप्ठ्यारो पर्ने गरेको उनले बताइन् । उनले नामै किटेर आयोगकी अर्की सदस्य कृष्णकुमारी पौडेल खतिवडामाथि विभिन्न आरोप लगाइन् । आयोग आफैँ समावेशी नभएको र सदस्यहरूको व्यवहार विभेदकारी रहेको उनको भनाइ थियो । महिला आयोगको अध्यक्षमा कमला पराजुली र सदस्यहरूमा कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्राकुमारी शर्मा सदस्य छन् ।

‘सदस्य कृष्णकुमारी खतिवडाजी समावेशिताको कुरामा किन मुस्लिम, किन मधेसी आयोग चाहियो भन्नुहुन्छ । म जब आफ्नो ठाउँमा जान्छु के जवाफ दिनु ?’ उनले प्रश्न गरिन्, ‘के मेरो अन्य सदस्यजस्तो अधिकार छैन ? के म विदेश जान मिल्दैन ? कृष्णजीलाई कसले अधिकार दियो मेरो कार्यक्रम रोक्ने ? सदस्य कृष्णले आफ्नो विदेश भ्रमण रद्द गर्ने, कार्यक्रम गर्न नदिइनेजस्ता गतिविधि गरेको उनको भनाइ थियो । कर्मचारीको व्यवहार पनि सदस्यको पिएजस्तो रहेको आरोप उनले लगाइन् । ‘आमाको नामले नागरिकता दिने कुरा उठिरहँदा वैवाहिक अंगीकृत खारेज गर्नुपर्ने आवाज महिला आयोगभित्र उठिरहेको छ । आयोग कस्तो छ सबैले बुझ्नुपर्छ । त्यसैले म आज यहाँ बोल्दै छु,’ सिन्हाले थपिन्, ‘यहाँ सदस्यलाई न्याय छैन । दूरदराजका महिलाले के न्याय पाउलान् ? आयोगभित्रै यस्तो छ । यो आयोग कसका लागि बनेको हो ? समावेशिताको अवस्था कस्तो छ सबैले थाहा पाउनुपर्छ ।’

उनले झन्डै पाँच मिनेट आफ्नो आक्रोश पोख्दासम्म उपस्थित सांसदहरूले खासै बोलेका थिएनन् । तर, उनको आक्रोश लम्बिँदै जाँदा सांसदहरूले ‘हाम्रो कुरा सुन्न बोलाएको कि आयोगले आफ्नो कुरा सुनाउन बोलाएको’ भन्दै असन्तुष्टि व्यक्त गरे । हल निकैबेर तनावपूर्ण बन्यो । केहीले सिन्हालाई बोल्न नदिएको र विभेदका कुरा सार्वजनिक हुनुपर्ने भनिरहेका थिए भने केही सांसद आफूहरूको कुरा नसुनेर आयोगका सदस्यले आफ्ना कुरा राख्न समय लिन नहुने भन्दै थिए । आयोगभित्रका कुरा पनि बाहिर आउनुपर्ने केहीको राय थियो भने केहीले भित्रका कुरा भित्रै मिलाउनुपर्ने र आयोगका कामकारबाही निरन्तर रहनुपर्ने बताउँदै थिए । 

रुकुम पश्चिमबाट आएकी कौशिला केसीले आयोगले किन काम गर्न नसकेको, महिलाका हकमा कार्यक्रम आयोजना गर्न नसकेको विषय उठ्नुपर्ने भन्दै उठाएकोमा सिन्हालाई धन्यवाद दिएकी थिइन् । सांसद कमला पन्तले आफूहरूको लामो संघर्षपछि महिला आयोग गठन भएको, संघर्षकै बलमा ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको भन्दै यस्तो झैझगडामा नलाग्न आग्रह गरिन् । ‘तपाईंहरूकै बीचमा सहमति छैन भने कसरी हामीलाई नीतिगत तहमा महिला सहभागिताका लागि लबिङ गर्नुहुन्छ ? मिलेर हिँड्न सिक्नुस्,’ 
उनले भनिन् । 

अन्त्यमा आयोगकी अध्यक्ष कमला पराजुलीले आफूले यो विषय मिलाउने भन्दै सिन्हालाई नबोल्न पटकपटक आग्रह गरेपछि मात्र उनी चुप लागेकी थिइन् । ‘आजको असहज परिस्थितिले म निकै मर्माहत भएकी छु । घरमूलीको नाताले आजको यो किचंगलका लागि मलाई माफ गरिदिनुहोला,’ कार्यक्रमको अन्तिममा उनले भनिन् । 

सार्वजनिक निकायमा आधा प्रतिनिधित्व होस्
कार्यक्रममा महिला सांसदहरूले स्थानीय तह, कार्यपालिका, व्यवस्थापिका, सुरक्षा संयन्त्रसहितका निकायमा आधा प्रतिनिधित्व हुनुपर्ने माग गरे । ३३ प्रतिशत नभई जनसंख्याका आधारमा राज्यका सबै निकायमा प्रतिनिधित्व हुने गरी संविधान तथा कानुनहरू संशोधन हुनुपर्ने उनीहरूले धारणा राखे । 

‘हामी दलभित्रै क्रान्ति गरौँ । समानता भनेको ३३ प्रतिशत हो र ? हामी यही ३३ प्रतिशतमा खुसी भएर आफ्नो दायरा आफैँ खुम्च्याउँदै छौँ,’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भनिन् । सिराहाबाट प्रतिनिधित्व गर्ने एमाले सांसद सम्झना थपलियाले महिलाहरू एकीकृत हुन नसक्ने अवस्थामा रहेको बताइन् । धनुषाबाट प्रतिनिधिसभामा सदस्य रहेकी प्रतीक्षा तिवारीले पनि पार्टी अनुशासनले बाँधिएका कारण महिलाकै सवालमा पनि आफूहरूले आवाज उठाउन नसकेको स्विकारिन् । महिला तथा सामाजिक मामिला समितिकी कार्यवाहक सभापति रहेकी राप्रपा सांसद रोसन कार्कीले महिलाका लागि मात्रै भनेर निर्वाचन क्षेत्र निर्धारण गरियो भने ५० प्रतिशत प्रतिनिधित्व हुने सम्भावना बढेर जाने बताइन् । 

उपसभामुख इन्दिरा रानाले महिला सांसदहरू एकीकृत हुनुपर्ने र दलीय आबद्धता तथा पृष्ठभूमिबाट टाढा रहेर महिलाका सवालमा एक हुनुपर्ने बताइन् । आफूलाई कतिपय विषयमा महिला सांसदहरूले इच्छाविपरीत पार्टीका लागि चित्त नबुझेको कुरामा पनि मतदान गरेको, पक्ष लिएको र सहमत नभएको विषयमा पनि पार्टीकै दबाबका कारण असहमति प्रकट गर्नुपरेको गुनासो गर्ने उनले सुनाइन् ।

आयोगभित्रै न्याय छैन, दूरदराजका महिलाले के न्याय पाउलान् ?
विद्या सिन्हा, सदस्य, राष्ट्रिय महिला आयोग

आमाको नामले नागरिकता दिने कुरा उठिरहँदा वैवाहिक अंगीकृत खारेज गर्नुपर्ने आवाज महिला आयोगभित्रै उठिरहेको छ । आयोग कस्तो छ सबैले बुझ्नुपर्छ । त्यसैले म आज यहाँ बोल्दै छु– यहाँ सदस्यलाई त न्याय छैन । दूरदराजका महिलाले के न्याय पाउलान् ? यो आयोग कसका लागि बनेको हो ? समावेशिताको अवस्था कस्तो छ सबैले थाहा पाउनुपर्छ ।
 

सुझावित समाचार