तयार भयो सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर (तस्बिरसहित)

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

करिब दुई अर्ब लगानीको टावर आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा ‘स्काई–वाक’ (सिसामा टेकेर हिँड्न मिल्ने) टावर निर्माण भएको छ । सर्वसाधारणले औपचारिक रूपमा आज (शुक्रबार)देखि टावरमा ‘स्काई वाक’ गर्न सक्ने जनाइएको छ । 

काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि सिसामा उभिन र हिँड्न मिल्ने संरचना तयार पारेको हो । ७८.५ मिटर उचाइको यस संरचनामा १८ तलासम्म लिफ्ट चल्छ । त्यसमाथिका तलामा होटेल, क्लब र इभेन्ट एरिया छन् भने २३औँ तला अर्थात् सबैभन्दा टपबाट टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याइएको छ । जसमाथि हिँड्न, बस्न र आराम गर्नसमेत मिल्छ । टावरको सबैभन्दा ‘रोमाञ्चक’ तला नै यही हो । सो ठाउँबाट उपत्यकाका अधिकांश भाग नियाल्न सकिन्छ ।

‘स्काई वाक’को डिजाइन स्टिल स्ट्रक्चरमा भएको छ । भूकम्प प्रतिरोधात्मक र सबै मापदण्ड पूरा गरेका कारण टावर पूर्ण सुरक्षित रहेको कम्पनीको दाबी छ । यसमा प्रयोग भएका सिसा पनि बलिया छन् । सुरुमा १० एमएमको टेम्पर ग्लास त्यसपछि १.५२ एमएमको लेमिनेटिङ लेयर र पुनः १० एमएमको टेम्पर ग्लास, १.५२ एमएमको लेमिनेटिङ लेयर र अन्तिममा १० एमएमको टेम्पर ग्लास गरी पाँचवटा (दुईवटा सिसा र तीनवटा टेम्पर ग्लास) लेयर राखिएको छ । 

जसका कारण सिसा अत्यन्तै मजबुद रहेकाले सुरक्षित हुने अध्यक्ष आकर्षण पोखरेलको दाबी छ । उनका अनुसार यसले दुई हजारजनासम्मको लोडलाई धान्न सक्छ, तर सहजताका लागि एकपटकमा पाँच सयजनालाई प्रवेश दिइनेछ । ‘यो कुनै टावर होइन, तर ‘स्काई वाक’का लागि बनेको टावरचाहिँ हो । पयर्टकीय क्षेत्रमा हामीले नयाँ काम गरेको ठानेका छौँं,’ उनले भने, ‘विदेशमा देखेपछि नेपालमा पनि ल्याएका हौँ ।’ उनका अनुसार ‘स्काई वाक’मा चढ्नेहरूको बिमा गरेर मात्रै प्रवेश दिइनेछ । यसमा ब्रिटिस स्ट्यान्डर्डको स्टिल प्रयोग गरिएको छ । सोही कम्पनीले यसअघि इलामको कन्याममा स्काई वाक सञ्चालनमा ल्याइसकेको छ । पहिलो स्काई वाक प्रभावकारी देखिएपछि कम्पनीले उपत्यकामा त्यसभन्दा पनि ठूलो स्काई वाक निर्माण गरेको हो । 

काठमाडौं महानगरको सहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले टावरले संरचना निर्माण गर्दा नक्सा पास र निर्माण सम्पन्नको प्रमाणपत्र लिइसकेको बताए । उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि प्लानिङ पर्मिट दिएको छ । 

कुन तलामा के–के छन् ? 

स्काई वाक टावरको १८ तलभन्दा मुनि दुई साइडमा दुईवटा लिफ्ट छ भने बीचमा पिलर तथा टावर सपोर्टर राखिएको छ । दुईवटा लिफ्टमा एकपटकमा ४८ जना अट्छन् । लिफ्ट चढेपछि सीधै १८ तलासम्म पुगिन्छ । त्यसभन्दामाथि दुई तला हिँडेर स्काई टावरमा पुगिन्छ । दुई तलामाथि भ्यु पोइन्ट छ । जुन धराहराभन्दा अग्लो छ । कम्पनीका परियोजना निर्देशक सञ्जीव रोकाले तीन वर्षअघिदेखि स्काई वाक संरचना निर्माण थालिएको बताए । उनका अनुसार स्काई वाकको भुइँको क्षेत्रफल १३ रोपनी दुई आना हो । स्काई वाक नगर्नेहरूका लागि भुइँमा विभिन्न आकर्षक ठाउँ निर्माण गरिएको छ । पार्क, पेन्टिङ वाल तथा रेस्टुरेन्टहरू हुनेछन् । रेस्टुरेन्ट छिर्नका लागि प्रवेश शुल्क तिर्नुपर्दैन । 

स्काई वाक गर्न एकजनाले एक हजार शुल्क तिर्नुपर्छ । यसबापत उसले ३५ मिनेटसम्म त्यहाँ बस्न पाउँछ । यसबाहेक अन्य सुविधा लिए छुट्टै तिर्नुपर्छ । यद्यपि, ८० वर्षभन्दा माथिका वृद्धवृद्धा र पाँच वर्षभन्दा मुनिका बालबालिकाका लागि निःशुल्क छ । विद्यार्थीका लागि छुट्टै प्याकेज ल्याउने कम्पनीको तयारी छ । यहाँ पाँच सय मोटरसाइकल र दुई सय चारपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । 

टावरबाट बन्जीसमेत गराउने तयारी


केही समयपछि टावरबाट बन्जी जम्प पनि गर्न मिल्ने व्यवस्था मिलाइरहेको कम्पनीले जनाएको छ । त्यसका निम्ति प्राविधिक जाँच र मूल्यांकन भइसकेको छ । सम्भाव्यता र मूल्यांकन अभ्यास भइसकेकाले छोटो समयमै बन्जी जम्प पनि बनाउने तयारी भएको अध्यक्ष पोखरेलको भनाइ छ । 

नयाँ गन्तव्य, तर प्रवेश शुल्क महँगो 


सहरी क्षेत्रमा पयर्टक तान्नका लागि बनेको स्काई वाकले लिने प्रवेश शुल्क भने तुलनात्मक रूपमा महँगो छ । ३५ मिनेट अवलोकन र वाक गरेको एक हजार रुपैयाँ तिर्नुपर्छ । नेपालका यस्तै प्रकृतिका अन्य पर्यटकीय क्षेत्रका हिसाबले यो शुल्क महँगो मानिन्छ । उपत्यकाआसपासका जिपलाइन, केबलकारलगायत ‘एडभेन्चर’ गन्तव्यको शुल्कभन्दा स्काई वाकले लिने शुल्क महँगो भएका कारण सबैको पहुँच नपुग्ने सर्वसाधारणको अनुमान छ । तर, अध्यक्ष पोखरेलले भने निर्माणमा लागेको खर्च र यसले दिने सुविधाअनुसार शुल्क सहुलियत भएको बताए । स्काई वाक धरहरा हाराहारीको उचाइमा छ । सरकारले धरहरामा भने प्रवेश खुला गरेको छैन । दुई वर्षअघि नै उद्घाटन भए पनि हाल बन्द छ । 




तस्बिर : सतिश पोखरेल र दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार