लगातार ढुंगा खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, भोलि मात्र अवरोध हटाइने

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

मुग्लिननजिक पहाडमाथिबाट लगातार ढुंगा खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक भोलि मात्र खोलिने भएको छ । सडकमा थुप्रिएका ढुंगा भोलि –बिहीबार) बिहान मात्र हटाइने भएपछि आज रातभर मुख्य राजमार्ग अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुलनजिक खसेको पहिरोका कारण यातायातका साधन रोकिँदा सयौँ यात्रु अलपत्र छन् । यहाँ बुधबार रातिदेखि नै ढुंगा खसेर पटकपटक यातायात अवरूद्ध भएको थियो ।  

बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा पहाड माथिबाट पुनः ढुंगा खस्न सुरू भएपछि दुवैतर्फबाट बाटो बन्द भएको हो ।

अग्लो ठाउँबाट ढुंगा र गेग्रान लगातार झरेका कारण बाटोको अवरोध हटाउन मुस्किल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

‘बिहानको अवरोध त हटायौँ, तर दिउँसो १ बजेपछिको अवरोध हटाउन सकिएन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने, ‘सकेसम्म चाँडो अवरोध हटाउने चाहना हो । तर, रातिको समयमा सुरक्षाको जोखिम बढि भएकाले सम्भावना भएन । अब भोलि बिहानबाट हामी काम सुरु गर्छौं ।’ 

उनका अनुसार पहिरो हटाउने उपकरण र जनशक्ति तयारी अवस्थामा भए पनि लगातार अग्लो स्थानबाट सुक्का पहिरो आउँदा समस्या भएको हो । एसपी कार्कीका अनुसार यो सडक प्रवेश गर्ने जिल्लाहरूमा सडककोबारे जानकारी गराएर मुख्य नाकामा अन्य सवारीहरू रोकेर राखिएको छ ।

सुझावित समाचार