खाना खाएर जाऊ

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

परापूर्वकालमा गोदावरी कुण्डनजिकै एक सन्तको कुटी थियो । उनी काम, क्रोध, लोभ र मोहबाट मुक्त थिए । उनको महान्ताको चर्चा टाढा–टाढासम्म हुने गथ्र्यो । उनलाई सहयोग गर्न चाहने दाताको कमी थिएन । तर, सन्त उनीहरूको कुनै भेट स्विकार्दैनथे । सन्तको दर्शनका लागि टाढा–टाढाबाट भक्तजन आउँथे ।

उनका अमृतवचन सुनेर फर्किन्थे । कैयौँ त आजीवन उनकै आश्रममा बस्ने गर्थे । त्यही गाउँका कतिपय मानिसलाई भने उनका कुरा मन पर्दैनथे । उनीहरू जहिल्यै सन्तको अपमान गर्ने उपाय खोजिरहन्थे । सन्तको आश्रमदेखि अलि परको एउटा चौतारामा बसेर उनका विरोधी सन्तको अपमान गर्ने र टाढा–टाढाबाट आउने भक्तजनलाई भड्काउने उपाय खोजिरहन्थे । 

एक दिन सन्तका विरोधीहरू चौतारामा जम्मा भएर उनको अपमान गर्ने उपायबारे सल्लाह गरिरहेका थिए । त्यसै समयमा सोही बाटो हुँदै एक गरिब बटुवा कतै जाँदै थिए । सन्तका विरोधीले उनलाई सोधे– तिमी कता जाँदै छौ ? बटुवाले जवाफ दिए– गरिबीले सताएकाले केही काम पाइन्छ कि भनेर छिमेकी देशतिर जाँदै छु । गरिबको कुरा सुनेर सन्तका विरोधीमध्ये एकले भने– ठिकै छ, हामी तिमीलाई एउटा काम दिन्छौँ । त्यो काम गर्न सक्यौँ भने हामी तिमीलाई धन दिनेछौँ ।

उनले बटुवाको कानमा मुख लगाएर खासखुस गरे र भने– तिमीले यत्ति गर्न सक्यौ भने पुग्छ । सम्पत्ति पाउने लोभमा बटुवा सन्तको आश्रममा पुगे । त्यतिखेर सन्त ध्यानमा लीन थिए । बटुवाले भन्नु–नभन्नु भनेर सन्तको अपमान गरे । तर, सन्तले वास्तै गरेनन् । उनी ध्यानमै मग्न भए । बटुवा झन्–झन् चर्की–चर्की सन्तलाई गाली गर्न थाले । एकछिनपछि सन्तले आँखा खोले र मुसुक्क मुस्कुराउँदै भने– बन्धु, तपाईं भोकाउनुभएको होला, आश्रमको भान्छामा गएर पेटभरि खाना खाएर मात्र जानुस् है !
सन्तले यसरी प्रसन्न मनले खाना खाएर जाने प्रस्ताव गर्लान् भनेर बटुवाले सोचेका पनि थिएनन् । सन्तको यस्तो क्षमाशील व्यक्तित्व देख्दा बटुवाको मन द्रवीभूत भयो । उनले सन्तसित माफी माग्दै आफ्नो गल्तीको प्रायश्चित्त गरे ।

सुझावित समाचार