नेपाल भ्रमणमा रहेका शान्ति सेनासम्बन्धी विभाग हेर्ने संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्सले उच्चस्तरीय भेटघाट गरेका छन् ।
भेटमा उनले शान्ति मिसनमा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै थप सहभागिताका विषयमा छलफल गरेका छन् ।
उपमहासचिव लाक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा उपमहासचिव लाक्रोइक्सले नेपालले शान्तिसेना पठाएर अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई सहयोग पुर्याएकोमा प्रशंसा गरेका छन् ।
साथै, नेपालले १३ देखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघसँग मिलेर नेपालले आयोजना गरेको ‘शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठी(पिटिपिएस) भव्यताका साथ सम्पन्न गरेकोमा उनले पनि प्रशंसा गरेका छन् ।
११ शान्ति मिसनका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका ५१ देशका प्रतिनिधि र विज्ञसहित दुई सय ३० जनाको सो कार्यक्रममा सहभागिता थियो । त्यो सम्मेलन आयोजना गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो ।
त्यो कार्यक्रमको संयोजन रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले गरेका थिए । साथै, सो अवसरमा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदान सम्बन्धमा उनले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको उपमहासचिवले पनि सफल भएको भन्दै नेपाललाई बधाई दिएका छन् । शान्ति मिसनमा नेपालको अझै तैनाथी बढाउने विषयमा उनले नेपाली अधिकारीसँग छलफल गरेका छन् ।