दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा विद्यार्थीमाथि कुटपिट गर्ने एकजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो। विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए।
बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो। ‘कक्षा ८ मा अध्ययनरत विद्यार्थीबीच खेल्ने वेलामा झगडा भएको रहेछ,’ विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले भने, ‘तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको जानकारी पाइयो।’
आफू सो दिन विद्यालयमा नभएको समयमा घटना भएको उनले बताए। उनले भने, ‘शिक्षक साथीहरू पनि माथितिर रहेछन्। झगडाको विषयमा अभिभावकले शिक्षकलाई जानकारी गराउनुपर्नेमा आफैँ कुटपिट गरेको देखियो,’ उनले भने। सामान्य विषयमा अभिभावकले हात हाल्न नहुने उनको भनाइ छ।
विद्यार्थीका अनुसार विद्यालयपारि गिरीको पसल छ। विद्यालयमा इन्टरबल भएको वेला विद्यार्थीबीच सामान्य झगडा भएको थियो। खेल्ने वेला भएको झगडामा गिरीका बुबा हरिभक्त आएर साउदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरे। साउदमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालबाट बाहिरियो।
साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउदका अभिभावकले मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताए।
उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ। गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको सिंहले जानकारी दिए।