प्रहरी प्रधान कार्यालयमा रावा बैंकको एक्सटेन्सन काउन्टर

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्सालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उद्घाटन गरेका हुन् ।  

काउन्टरको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताएका थिए । बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको उनको भनाइ थियो । 

शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद–चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटिएम सेवालगायत सेवा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले हाल देशका ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ शाखा, ६४ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार