बजेट विनियोजन गर्दा चरम विभेद गरेको भन्दै विपक्षी दल एमाले र राप्रपाले गरे अवरोध
प्रतिपक्षी दलहरूको अवरोधपछि बागमती प्रदेश सभाको बैठक मंगलबार अवरुद्ध भएको छ । बजेट विनियोजन गर्दा सरकारले चरम विभेद गरेको भन्दै विपक्षी दलहरू एमाले र राप्रपाले बजेट अवरुद्ध पारेका हुन् ।
सहमतिमा बैठक चलाउने सभामुख भुवनकुमार पाठकको प्रयास पनि सफल हुन सकेन । मंगलबार साँझ सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मलाई बैठक स्थगित गरिएको छ । सरकारले बजेट निर्माण गर्दा गरेको विभेदबारे मंगलबार नयाँ पत्रिका दैनिकले कभर स्टोरी नै छापेको थियो । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकलाई तीन करोडका योजना छनोट गर्न लगाएर दुई अर्ब ९१ करोड विनियोजन गरिएको छ । विपक्षी सांसदलाई भने तीन करोड मात्र दिइएको छ ।
मंगलबार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची थियो । तर, सत्तापक्षले बजेटमा एकलौटी गरेको भन्दै एमाले र राप्रपाका सांसदले मंगलबार बैठक चल्न दिएनन् । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बैठकमा भएको अवरोध हटाउन सभामुख पाठकले प्रयास गरे पनि दलहरूबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको जानकारी दिए ।
बजेट पुनर्लेखन नगरे चल्न नदिने चेतावनी

बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले विशेष समय लिएर बजेट विभेदकारी रहेको आरोप लगाए । सरकारले बजेटमा सन्तुलन कायम गर्न नसकेको भन्दै उनले सत्तापक्षका सांसद र प्रदेशका मन्त्रीको क्षेत्र पर्ने सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेर बजेट विनियोजन गरिएको आरोप लगाए ।
‘धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा मात्र कुल विकास बजेट सात अर्बको हाराहारीमा देखिन्छ । सिन्धुपाल्चोक र नुवाकोटसमेतको गर्दा कुल बजेटको २१ प्रतिशत बजेट तीन जिल्लामा मात्र विनियोजन भएको देखिन्छ,’ उनले भने, ‘भौतिक पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गतको मेलम्ची नगरपालिकामा २८ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोहीअनुरूप अन्य जिल्ला र स्थानीय तहमा किन बजेट विनियोजन भएन ?,’ उनले प्रश्न गर्दै भने । उनले बोलेपछि सभामुख पाठकले सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिन आह्वान गरे । तर, एमाले र राप्रका सांसदले उभिएर बैठक सञ्चालनमा अवरोध गरिरहे । उनीहरूले बजेट पुनर्लेखन नभएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
प्रदेश सभा सचिवालय जलमग्न
मंगलबार केहीबेर परेको वर्षाले बागमती प्रदेश सभा सचिवालय जलमग्न भएको छ । पानीको उपयुक्त निकास नहुँदा सचिवालय प्रांगण तलाउजस्तै बनेको थियो । परिसर जलमग्न हुँदा दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हन नसकी केही समय सारिएको थियो । संसद् सचिवालयभित्र पानी जम्ने समस्या समाधान गर्न अघिल्लो कार्यकालदेखि नै सांसदहरूले आवाज उठाउँदै आएका थिए । तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले रुलिङ गर्दै भौतिक पूर्वाधार विकासमन्त्रीलाई समाधानका लागि निर्देशन दिएका थिए । तर, अहिलेसम्म पानी जम्ने समस्या समाधान भएको छैन ।