चीन र संयुक्त राज्य अमेरिकाबीच विद्यमान भूराजनीतिक चुनौतीका साथै जारी आपूर्ति शृंखलाका सवालले उत्पादक तथा उपभोक्तालाई असर पारिरहेको छ । यसैबीच म्यानुफ्याक्चरिङ चीनबाहिर सर्न थालेकोबारे चर्चा भइरहेको छ । तर, वार्ताका बाबजुद सन् २०२२ मा कीर्तिमानी स्तरमा पुगेको अमेरिका र चीनबीचको व्यापार निकट भविष्यमा सुस्तिने कुनै संकेत देखिँदैनन् ।
चीनलाई पश्चिम देशका लागि खुला गर्ने श्रेय तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको नेतृत्वमा विदेशमन्त्री रहेका हेनरी किसिंगरलाई जान्छ । तर, सन् २००० सम्म पनि अमेरिकाले चीनलाई पर्मानेन्ट नर्मल ट्रेड रिलेसन्सको हैसियत प्रदान गरेको थिएन । यो कानुनी हैसियतले उक्त विदेशी राष्ट्रलाई मोस्ट फेवर्ड नेसन स्टाटस प्रदान गर्छ र विश्व व्यापार संगठनका अन्य सदस्यसरह व्यवहार गरिन्छ ।
यस कदमले विश्व व्यापारमा चीनको बढ्दो भूमिकालाई सशक्त बनायो । सस्तो श्रम र चिनियाँ सरकारको अनुकूल नीतिबाट आकर्षित भएर विश्वका धेरैजसो म्यानुफ्याक्चरिङ आधार त्यसयता चीनमा सरेका छन् । यी नीतिमा पूर्वाधार र व्यापार क्षमतामा ठूलो लगानीलगायत पर्छन् ।
महसुल र व्यापार युद्ध
चीनको सानदार आर्थिक उदयले जासुसी बेलुनदेखि अनुचित व्यापार अभ्यास र बौद्धिक सम्पत्ति चोरीको आरोपसम्मका थुप्रै भू–राजनीतिक चुनौती खडा गरेको छ । जुन अमेरिका र चीनबीच प्रत्यक्ष व्यापार युद्धमा परिणत भएको छ ।सन् २०१८ मा राष्ट्रपति भएपछि चिनियाँ सामानमा अर्बाैं डलर महसुल थोपर्न डोनाल्ड ट्रम्पले सन् १९७४ को व्यापार ऐनको दफा ३०१ उपयोग गरे । जसका कारण कम्पनीहरूलाई आफ्ना म्यानुफ्याक्चरिङ सुविधा भियतनाम, बंगलादेश र भारतजस्ता एसियाका अन्य लागत कम पर्ने गन्तव्यमा सार्न दबाब बढ्यो ।
विश्वव्यापी आपूर्ति शृंखलामा कोभिड–१९ महामारीले अवरोध निम्त्याएपछि म्यानुफ्याक्चरिङलाई बजारनजिकै फिर्ता ल्याउन वा नजिकैको देशमा नियरसोरिङ .(उदाहरणका लागि अमेरिकी बजारका लागि मेक्सिकोमा कारखाना निर्माण गर्ने) गर्नुपर्ने आवश्यकता देखियो ।
यी महत्वपूर्ण आर्थिक तथा राजनीतिक दबाबका बाबजुद धेरै कम्पनीले अझै पनि आफ्नो उत्पादन चीनबाट बाहिर सारिरहेका छैनन् । किन नसारेका हुन् त ? किनकि चीनले म्यानुफ्याक्चरिङमा महारथ हासिल गरेको छ । विश्वव्यापी प्रतिस्पर्धात्मकता हाम्रो जारी अनुसन्धानको एक भागको रूपमा, हामीले केही म्यानुफ्याक्चरिङ कम्पनीका गोप्य तथ्यांकको समीक्षा गर्ने अवसर पाएका थियाैँ ।
यस तथ्यांकले बंगलादेशजस्ता बजारमा उत्पादनसँग जोडिने श्रम लागत उल्लेखनीय रूपमा कम त छ, तर ती स्थानको उत्पादकत्व पनि कम रहेको देखाउँछ । एसियाका अन्य उदीयमान अर्थतन्त्रका श्रमको तुलनामा चिनियाँ श्रम महँगो त छ, तर ती बढी उत्पादनशील पनि छन् । आफ्नो म्यानुफ्याक्चरिङलाई चीनबाट अन्यत्र स्थानान्तरण गर्ने निर्णय गर्दा यी दुवै कुरा ध्यानमा राख्नुपर्ने हुन्छ । तर, यो कथाको एउटा पाटो मात्र हो ।
म्यानुफ्याक्चरिङको वास्तविकता
म्यानुफ्याक्चरिङको संसार कसरी सञ्चालन हुन्छ भन्नेबारे बुझ्न हामीले हाम्रा पूर्वविद्यार्थी उपभोग्य वस्तुको उत्पादन गर्ने ग्लोबल सोर्सिङ कम्पनीका कार्यकारी जोसेफ इगरसँग अन्तर्वार्ता गर्याैं । उदाहरणका लागि बेसबलका खेलाडीले लगाउने क्याप उत्पादनलाई नै लिऔँ । केही बेसबल क्याप एकदमै सामान्य हुन्छन्, जबकि केही क्याप अधिक जटिल । तिनमा कढाई गर्नुपर्ने हुन्छ र कच्चापदार्थ अर्थात् कपडा पनि महंँगा प्रयोग हुन्छन् । इगरले भनेझैँ बेसबल क्याप उत्पादनको कार्य मोबाइल उत्पादनजस्तो त होइन, तर यो पनि जटिल कार्य हो ।
चीनको म्यानुफ्याक्चरिङ उद्योगको पहुँच उच्चस्तरको पर्या–प्रणाली भएका अथवा संयोजनपूर्ण अर्थतन्त्रमा छ । हुडी उत्पादन गर्ने कुरालाई नै उदाहरणमा लिऔँ । यो कपडा काट्ने र त्यसलाई हुडीमा सिउने कुरा मात्रै होइन । इगरले यसलाई त्यसका लागि आवश्यक काँटछाँट, रंग, जिपर, तुना–डोरी र अन्य आवश्यक चिजबारेको पनि कुरा हो भनेर व्याख्या गरे । चीनले त्यहाँ म्यानुफ्याक्चरिङको आपूर्ति शृंखला पूरै सुनिश्चित हुने रणनीति अख्तियार गरेको छ र म्यानुफ्याक्चरिङ प्रक्रियाको हरेक चरणमा श्रेष्ठता हासिल गरेको छ । चीनले विश्वको अधिकांश ऊन तथा कपास आयात र प्रशोधनसमेत गर्छ, जसमा अमेरिकामा उत्पादन हुने कपासको निकै ठूलो र विश्वको करिब ३५ प्रतिशत समावेश छ ।
त्यहाँ यो कपासलाई त्यसपछि प्रशोधन गरी रेसा बनाइन्छ, रंग्याइन्छ र कपडा अनि अन्य उत्पादनको रूप दिइन्छ । त्यसपछि ती अमेरिका र विश्वभर तयारी मालका रूपमा निर्यात गरिन्छन् । टेक्स्टाइल (कपडा उद्योग)को सम्पूर्ण इकोसिस्टम चीनमा छ । कपडाको कुरामा मात्रै होइन, अन्य घटकको मामलामा पनि यही हो । यदि अमेरिका वा क्यानडाका कुनै खुद्रा विक्रेताले आफूले बेच्ने कपडाको उत्पादन चीनबाट अन्यत्र सार्न चाहन्छ भने उसले सम्पूर्ण इकोसिस्टमलाई पनि सँगै सार्नुपर्ने हुन्छ । अथवा उनीहरूले अन्तिम उत्पादन हुने बंगलादेशजस्ता अन्य मुलुकमा चीनबाट आवश्यक सामान व्यवस्था गर्ने भन्ने कुरा सुनिश्चित गर्नु आवश्यक छ ।
लागत उच्च
यसबाट म्यानुफ्याक्चरिङले चीन छाड्ने कुराको लागत निकै उच्च रहेको छर्लंग हुन्छ । जबसम्म म्यानुफ्याक्चरिङ हुने वस्तुहरूको इकोसिस्टम चीनमा रहिरहन्छ, तबसम्म विश्वको म्यानुफ्याक्चरिङको ठूलो हिस्सा चीनमै रहनेछ । के कम्पनीहरूले आफ्ना म्यानुफ्याक्चरिङलाई चीनबाहिर लैजानुपर्ने परिस्थिति आउन लागेको हो ? परिस्थिति एकाएक अन्य देशको पक्षमा जाने सम्भावना देखिँदैन । आगामी वर्षमा अन्य एसियाली देश म्यानुफ्याक्चरिङ क्षेत्रमा अघि बढेमा र तिनिले आफ्नै इकोसिस्टम विकसित गरेमा उत्पादनको कार्य चीनबाट अन्यत्र सर्ने आर्थिक आधार पनि तयार हुँदै जानेछ । तर, यो कुरा अझै केही वर्ष टाढा छ ।
वालिद हेजाजी, बेनार्दाे बेलुमको आलेख द कन्भर्सेसनबाट