आलोचनाको प्रतिवाद किन गर्नु ?

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

एक अति सामान्य परिवारबाट उठेर अब्राहम लिंकन अमेरिकाका १६औँ राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति बनेपछि उनले दासप्रथा अन्त्य गरे । उनले धेरैको वाहवाही पनि पाए । तर, उनका आलोचक पनि कम्ती थिएनन् । कतिपयले पत्रपत्रिकामार्फत पनि उनको आलोचना गर्थे । 

लिंकनको आलोचना निकै बढ्दै गए पनि उनी भने थाहै नपाएजस्तो गरी आफ्नै काममा व्यस्त थिए । राम्रो काम गर्दागर्दै पनि आलोचना भएको देख्दा उनका आफन्त र साथीहरू भने निकै आक्रोशित भइरहेका थिए । उनीहरू स्वयं लिंकनबाटै यसको प्रतिवाद होस् भन्ने चाहन्थे । तर, लिंकनले यसबारे चासो दिइरहेका थिएनन् ।

एकदिन लिंकनका अत्यन्त निकट मित्रले मौका मिलाएर सोधे– प्रिय मित्र, तिमी देश र देशवासीका लागि यति राम्रा–राम्रा काम गरिरहेका छौ । तैपनि, मानिसहरू तिम्रो प्रशंसाको साटो चाहिने–नचाहिने आलोचना गरिरहेका छन् । तिमी किन तिनलाई जवाफ दिँदैनौ ? तिमी मौन रह्यौ भने त यी आलोचना सही ठहरिँदैनन् र ? 

मित्रको कुरा सुनेपछि लिंकन मुसुक्क मुस्कुराए र भने– मेरा प्यारा मित्र, एउटा कोणबाट हेर्दा तिमीले भनेको ठिकै हो । तर, यस्ता वाद–प्रतिवादमा लागेँ भने मैले देश र जनताका लागि कामचाहिँ कहिले गर्नु ? म देश र जनताको हितमा काम गरिरहन्छु । मेरा कामले देश र जनताको हित गरे भने आलोचकका मुख स्वतः बन्द हुन्छन् । तर, मैले राम्रा काम गर्न सकिनँ भने यस्ता आलोचनाको थप वर्षा हुन्छ, जसबाट मलाई कसैले पनि बचाउन सक्नेछैन ।

सुझावित समाचार