मुख्य बजारमा अलपत्र पार्कमा लडेर गम्भिर घाइते नौ वर्षीया खुसी परियार उपचार अभावमा पीडा सहेर हिँड्न बाध्य छिन्। अलपत्र पार्कको छडले उनको मलद्धार र यौनाङ्गमा ठुलो चोट लागेको छ।
नौ वर्षीया खुसी परियारलाई बास र गाँसको आश कहिल्यै भएन । उनी बिहानदेखि बेलुकासम्म पैसा र खानेकुरा माग्न सडक बालबालिकाहरुकै भिडमा कुदिरहेकी हुन्थिन् । पेट भर्नकै लागि दिनभर बजारका गल्ली र पसल चहार्थिन् । उनले जन्मिएपछि नाम मात्रै ‘खुसी’ पाएकी हुन् । त्योबाहेकको उनले कहिल्यै खुसी प्राप्त गरिनन् ।
प्युठानको गौमुखी गाउँपालिका– २ अर्खा डाँडागाउँ घर भएकी उनलाई सानैमा छाडेर आमाले अर्को बिहे गरिन्। त्यसपछि बुबाले पनि अर्को बिहे गरेपछि खुसी अलपत्र परिन् । उनी डेढ बर्षदेखि गुल्मीको रेसुंगा नगरपालिका– ८ खानीगाउँस्थित फुपूको घरमा बस्दै आएकी थिइन् । फुपू मनीषा र भिनाजु सन्दिप रजाली मगर पनि ज्याला मजदुरी गर्छन् । उनीहरुका आफ्नै आठ वर्षीया छोरी लक्ष्मी र तीन बर्षीय छोरा रुद्र हेरबिचार नपाएर दिनभर गल्लीमा हुन्थे । उनीहरुसंगै खुसी पनि दिनभर बजारमा माग्न दौडिन्थिन्।
सोहि क्रममा एक महिनाअघि खुसी साथीहरुसँग नुहाउन जिल्ला प्रशासन र जिल्ला समन्वय समिति अगाडीको अलपत्र थ्रिडी पार्कमा पुगिन् । उनीहरु पार्कको शंख तल जमेको पानीमा दैनिक पौडी खेल्थे । सोहि क्रममा खुट्टा चिप्लिएर लडेकी खुसीलाई छडले घोच्यो। फुपू मनीषाका अनुसार खुसीको योनी र गुद्धवारहुँदै भित्रसम्म ठुलो चोट लाग्यो । रगताम्य खुसीलाई स्थानीयले गुल्मी अस्पताल पुर्याए । उपचार सम्भव नभएपछि मनीषाले थप उपचारको लागि बुटवल लगिन्। वुटवलमा छ दिन सामान्य उपचार गरेपनि अप्रेशन भएन । अस्पतालले मनीषालाई काठमाण्डौ लैजान अनुरोध गर्यो। आफूसँग एक कौडी पैसा नभएकाले छ दिनपछि घर फर्काएर ल्याएको मनीषाले प्रतिक्रिया दिइन् ।
अहिले खुसी राम्रोसंग दिसापिसाब गर्न र उठ्न बस्न सक्दिनन्। घाउबाट पानी बगिरहन्छ। केहिबेर हिँडे घाउबाट रगत बग्छ। मनीषाका अनुसार डाक्टरहरुले समयमै काठमाण्डौ पुर्याएर अप्रेसन गर्न भनेका थिए। तर, अर्थिक अभावमा खुसी एक महिनासम्म पीडा सहेर हिँडिरहेकी छन्। ‘डाक्टरले समयमै अप्रेसन नभए क्यान्सरदेखि बिहेपछि बच्चा जन्माउन समस्या हुने भनेका हुन्। आमा छैनन्, बाबुले केहि गर्ने अवस्था छैन,’ उनले भनिन्, ‘समस्या बल्झिँदै गएको छ।’
मेडिकलको सिटामोलका भरमा बुबा रामबहादुर परियारले छोरी लिएर हिँडेका छन् । ‘म आफैँ मुटुको रोगी छु । १५ दिन काम गरे १५ दिन अस्पताल बस्ने अवस्थामा छोरीको उपचार कसरी गर्ने ?’ उनले भने। गत बुधबार सोहि पार्कमा खेलिरहेकी मनीषाकी नौ वर्षीया छोरी लक्ष्मी पनि लडेर घाइते भइन्। दिउँसो पार्कको पानीमा खेलिरहेका बेला लक्ष्मी लडेपछि छडले खुट्टामा प्वाल पारेको छ। ‘पार्कले खुसीलाई मरणासन्न बनायो। लक्ष्मी पनि गम्भिर घाइते भएकी छ,’ मनीषाले भनिन्।
गुमनाम सरोकारवाला निकाय
सार्वजनिक स्थलमा लडेर घाइते सडक बालिकाको अवस्थाको बारेमा स्थानीय सरकार र सरकारका निकाय बेखबर थिए। बजारकै केहि मजदुरले खुसीको मृत्युको हल्ला गरेपछि नयाँ पत्रिकाले खुसीको अवस्था बुझ्न थालेपछि प्रहरीको दौडधुप चल्यो । चारदिनपछि मंगलबार प्रहरीले खुसी र उनको बुबालाई पत्ता लगाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले परिवारका व्यक्ति कसैको सम्पर्कमा नभएकाले बालिकाको अवस्था बाहिर आउन नसकेको बताए। उनको उपचार र हेरचाहमा परिवार नै जिम्मेवार रहेको प्रतिक्रिया दिए।
अधिकारकर्मी तथा अधिवक्ता हिरा कुवंरले बालिकाको स्वास्थ्य अवस्था र उपचारसंगै पटकपटक दुर्घटना हुने अलपत्र संरचनाको बिषयमा सरकार तथा त्यसका निकाय गम्भिर हुनुपर्ने बताइन्। ‘सरकार र निकाय पहुँचविहीनको पक्षमा हुनुपर्छ। सडक बालबालिकाको संरक्षण राज्यको दायित्व भएकाले स्वास्थ्य उपचार बेलैमा हुनुप¥यो,’उनले भनिन्, ‘संरचनाको बिषयमा पनि सोच्नुपर्छ।’
प्रशासन र जिसस अगाडिनै पार्कको दुर्दशा
जिल्लामा अख्तियारको प्रतिनिधी संस्था जिल्ला प्रशासन कार्यालय हो । जिल्लाका योजनाहरुको अनुगमन गर्ने जिल्ला समन्वय समिति । दुवै कार्यालयको गेटमा ६० लाखको थ्रिडी पार्क पटक–पटक अलपत्र हुने गरेको छ । यो योजना दुरुयोगको तमसा चलेको धेरै भए । तर, दुवै कार्यालय, दल र सरोकारवाला मुखदर्शक बनेका छन् ।
चारवर्षअघि रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा थ्रिडी पार्क निर्माण गरिएको हो । पछि पाँच लाखको पुन काम गरिएको छ । यो योजना विकटको हुँदै होइन । सदरमुकामको मुटु र जिल्लाका ठुला अड्डा अगाडिकै योजनाका हो । दैनिक प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुख पार्क नजिकैबाट कार्यालय पस्छन् ।
कार्यालयकै झ्यालबाट पनि दिनभर पार्क र पार्कमा बालबालिकाको क्रियाकलपा छर्लङ्ग हुन्छ । तर, उनीहरु अहिलेसम्म तैचुपमैचुप छन् । अहिले पार्कको अवस्था हरिबिजोक छ । उद्घाटन गरेको केहि समय फोटो खिच्ने र प्रचार गर्ने होड चल्यो । तर, अलपत्र परेपछि कसैले फर्किएर हेरेनन् । अहिले पार्क झाडी र फोहोरले जेलिएको छ ।
जहाँ दुई बालिका लडेर घाइते बने । त्यो मध्येकी खुसीको अवस्था बिजोक बनिरहेको छ । रेसुंगा नगरपालिकाको उपमेयर अमृतादेवि कुवंरले थ्रिडी पार्कको बिषयमा नगरमा पटक–पटक गुनासो र छलफल भएपनि ठोस निर्णय केहि नभएको बताइन् । उनले बजारबासीसंग सल्लाह गरेर नगरले उपयुक्त निर्णय गर्ने कुवरको भनाई छ ।
पार्कले इतिहास मेटिएको चिन्ता
लाँकुरीमञ्च तम्घासको मुटु हो । लाँकुरीको चौतारीमा बसेर थुप्रै व्यवस्थाका विरुद्धमा खबरदारी भएका छन् । त्यहि मञ्चले थुप्रै नेता जन्मायो । बिरोध वा बिजय सभा गर्नुपरे नेता तथा कार्यकर्ता लाँकुरीमञ्चमा भेला हुन्थे । मञ्चको बेग्लै पहिचान र इतिहास थियो । अहिले आधुनिक शहरको नाममा लाँकुरी मञ्च भत्काएर थ्रिडि पार्क निर्माण गरिएको छ । तर, दिगो संचालन र व्यवस्थापन प्रक्रिया अन्यौल भएका कारण पार्क अहिले बेवारिसे बन्दै गएको छ।
आधुनिकताको नाममा बर्षौको इतिहास र राज्यको ६० लाख बालुवामा पानी भएको सुशासन अभियान गुल्मीका सचिव तथा अधिवक्त बिनोद पाण्डेयले बताए । उनले ‘लाँकुरी बुढो भएर ढलेपनि बिरुवा हुर्काएर पहिचान स्थापित गर्नुपथ्र्यो । आधुनिकताको नाममा लाखौ खर्च भएपनि संरचना बेबारिसे बन्नु लज्जास्पद हो,’उनले भने,‘अब उपयुक्त उत्तर र विकल्प आवश्यक छ ।’
सडक बालबालिकाको संरक्षणको चुनौति
तम्घासको बुढाथोकी बसपार्क आसपासमा करिब १७ घरपरिवार मजदुर बस्छन् । तीमध्ये अधिकांश दलित र ढुंगा गिट्टी तथा गाडीको सामान लोडअनलोडमा काम गर्ने छन् । सोहि मध्येका हुन् सुशिल नेपाली । जसका पाँच छोरी छन् । उनी दिनभर काममा हुन्छन् । सवै बालबालिका सडकमा । सोहि ठाउँकै गीता सुनारका चार छोराछोरी छन् । कसैले बालबालिका विद्यालय पठाउँदैनन् । बजारमा दुई तीन समुहमा दैनिक १०/१२ जना बालबालिका माग्ने, संरचना तोडफोड गर्ने, गाडीको पछि कुद्ने र झुण्डिने गर्छन् । परिवार र प्रहरीका अनुसार केहिले नशा लिन समेत थालेका छन् । केहिले रक्सी, गाँजा र सुलेक्सन सुँघ्ने लगायतका क्रियाकलाप थालेका छन् ।
बालबालिकाले बजारका पसलहरुमा चोरी गर्ने र कार्यालय तथा बजारमा आउने नागरिकसँग जवर्जस्ती माग्ने गर्न थालेपछि सवै पक्षबाट बालबालिकाको व्यावस्थापनमा दबाब बढ्यो । बालबालिकाको व्यावस्थापनमा नगर, प्रहरी, प्रशासन र सरोकारवाला नलागेका होइनन् । कैयौ पटक बालबालिका बिद्यालय भर्ना भए, पोशाक बाँडियो र खर्चको जोहो गरियो । तर, परिवार बालबालिकाका विषयमा गम्भीर छैनन् । व्यवस्थापनको नीति, श्रोत साधन र संरचना छैन् । जसका कारण केहि महिना सुरक्षा निकाय, जिल्ला समन्वय समिति र स्थानीय तहको सहयोगमा मिनि होस्टल संचालन गरेर १७ जना बालबालिकाको व्यावस्थापन गरियो ।
केहि बालबालिका सुधारिएपनि धेरैले बानी परिवर्तन गरेनन । स्थायी संरचना नहुँदा सधै होस्टेल चलेन । जसका कारण मिनी होस्टेल बन्द गरिएको तत्कालिन बालबालिका व्यावस्थापन समितिका संयोजक तथा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए । उनले अभिभाव जिम्मेवार नभएसम्म सरकारी पहलले मात्रै काम गर्न नसकिने बताए ।