यस वर्ष रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री भुसाल

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस वर्ष धानका लागि आवश्यक रासायनिक मल अभाव नहुने दाबी गरेका हुन्।

उनका अनुसार हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोहरूमा ७८ हजार चार सय २२ मेट्रिक टन मल मौज्दात छ। असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउन महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने उनले जानकारी दिए।

आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ सुनिश्चित गरिएको उल्लेख गर्दै उनले भने, ‘चालू आर्थिक वर्षको लक्ष्यअनुसार कुल चार लाख ७८ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये तीन लाख ५१ हजार मेट्रिक टन आयात भई बिक्री–वितरण भइरहेको छ । हाल ७८ हजार चार सय २२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेसनका २४ डिपोमा मौज्दात रहेको छ।’

मन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले जोर्डन, तान्जानिया र टर्कीबाट हालसम्म कुल सात लाख ३७ हजार डोज खोप ल्याएको जानकारी दिए।

सुझावित समाचार