वागनर सेनाका प्रमुख येवगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो निर्धारित पदयात्रा रोकेका छन् । रुसमा भाडाका सैनिक उपलब्ध गराउने वागनर समूहले विद्रोहको प्रयास गरेको २४ घन्टाभन्दा कम समयमै यसअघि कब्जा गरेको रोस्तोभ–अन–दोन सहर छोड्न थालेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले वागनर सेनाका प्रमुखसँग वार्ता गरेपछि उनीहरूले मस्कोतर्फको पदयात्रा रोकेका हुन् । राष्ट्रपति लुकासेन्कोले प्रिगोजिनका लडाकुहरूलाई मस्कोतर्फ नजान गरेको प्रस्तावलाई वागनर सेना प्रमुखले स्वीकार गरेपछि तत्कालका लागि रुसी सेनासँगको ठूलो विद्रोह टरेको हो । त्यसैगरी, रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वागनर सेनालाई कारबाही नगर्ने बताएका छन् ।
रुसी राष्ट्रपति पुटिनले प्रिगोजिनलाई राजद्रोहको मुद्दा नलगाउन र उनलाई बेलारुसमा निर्वासनमा पठाउन सहमत भएपछि वागनर लडाकु आइतबार शिविरमा फर्केका छन् । यो सम्झौताले प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतरा अन्त्य गरेको छ । तर, विश्लेषकहरूले वागनरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।
शनिबार रातिदेखि नै दक्षिणी सहर रोस्तोभ–अन–दोनका सडक फेरि खुल्न थालेका छन् । वागनरका लडाकुहरूले यसअघि कब्जा गरेको सैन्य मुख्यालय खाली गरेका छन् । त्यसअघि वागनर समूहका प्रमुख प्रिगोजिनले रुसी सेना प्रमुख र रक्षामन्त्रीलाई बर्खास्त गर्न माग गर्दै क्रेमलिनविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए ।
प्रिगोजिनले आफ्ना सेनाको विद्रोहलाई फिर्ता लिएपछि बेलारुसका लागि रुस छोड्ने तयारीमा छन् । मस्कोमा आइतबार पनि ‘आतंकवादविरोधी अभियान’अन्तर्गत लगाइएका सुरक्षा उपाय यथावत् छन् र प्रिगोजिन कहाँ रहेका छन् भन्ने स्पष्ट जानकारी दिइएको छैन । विवरणअनुसार उनी अन्तिमपटक शनिबार अबेर राति रोस्तोभ–अन–डनमा देखिएका थिए । उक्त स्थानमा लडाकुहरूको एक समूहले जयजयकार गरेको थियो । वागनरको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो चुनौती थियो, जसका कारण उनको छवि कमजोर बनेको विज्ञहरूले बताएका छन् ।
पुटिनले शनिबार राष्ट्रिय टेलिभिजन सम्बोधनमा प्रिगोजिनको कार्यलाई ‘देशद्रोह’ भनेका थिए । साथै, उनले अपराधीहरूलाई दण्डित गर्ने वाचा गरेका थिए । वागनरले गृहयुद्ध निम्त्याउन खोजेकोे आरोप पुटिनले लगाएका थिए ।
तर, सम्झौतापछि प्रिगोजिन र उनका सेनालाई कारबाही नगरिने क्रेमलिनले बताएको छ । प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’को आरोप फिर्ता लिने र वागनर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् । विश्लेषकहरूले यो सम्झौताले रुसी राष्ट्रपतिको सत्ता पकडमा कमजोरी उजागर गरेको बताएका छन् ।
आइतबार मस्कोबाट करिब तीन सय किलोमिटर दक्षिणमा रहेको लिपेत्स्क सहर वागनर लडाकुहरूले छाडेका सो सहरका अधिकारीहरूले बताएका छन् । भाडाको सेनाले मस्कोविरुद्ध नाटकीय विद्रोह रोकेपछि लडाकुहरूले रुसको दक्षिणी भोरोनेझ क्षेत्र छोड्दै गरेको स्थानीय गभर्नरले बताएका छन् । सहर छोड्दै गर्दा लडाकुहरूले हवाई फायरिङ गरेका थिए ।
‘वागनरको विद्रोह पुटिनको शक्तिमाथि चुनौती’
वागनरको विद्रोह पुटिनको अख्तियारलाई प्रत्यक्ष चुनौती भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टिप्पणी गरेका छन् । ‘यो पुटिनको शक्तिलाई प्रत्यक्ष चुनौती थियो । तसर्थ, यसले गहिरो प्रश्न खडा गर्छ । वास्तविक दरार देखाउँछ’ ब्लिन्केनले सिबिएस न्युजको टक सो फेस द नेसनलाई भने ।
युक्रेन योजनामा रुस विश्वस्त छ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू रक्षा मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहेको र युक्रेनमा ‘विशेष सैन्य कारबाही’सम्बन्धी आफ्नो योजना साकार पार्नेमा विश्वस्त रहेको एक सरकारी टेलिभिजनलाई बताएका छन् । रुसी राजनीतिज्ञ तथा राष्ट्रपति पुटिनका पूर्वसल्लाहकार सर्गेई मार्कोभले वागनर विद्रोह ‘रुसी सरकारमा केही संकटको सूचक’ भएको टिप्पणी गरेका छन् । ‘पुटिनले आफ्नो नीति परिवर्तन गर्नुपर्छ र रुसी समाज र रुसी सेनाको मागअनुसार युक्रेनमा विजयी युद्धका लागि कडा नीति सञ्चालन गर्नुपर्दछ,’ बिबिसी रेडियो ४ को ब्रोडकास्टिङ हाउस कार्यक्रममा उनले भने । यसैबीच, अग्रमोर्चाका चारवटा क्षेत्रमा युक्रेनी फौजले गरेको नयाँ हमलालाई रुसले प्रतिकार गरेको दाबी गरेको छ ।
–एजेन्सी