केही छुट्यो कि ?

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

एउटा स्कुलका केही विद्यार्थी शैक्षिक भ्रमणबाट फर्किँदै थिए । सबै बसमा रमाइलो गर्दै नाचगान पनि गर्दै थिए । झोलामा बाँकी बचेका तयारी खाजा पनि सँगसँगै खाँदै थिए । हेर्दाहेर्दै स्कुल पनि आइपुग्यो । प्रधानाध्यापकले भने- सबैले आ-आफ्ना सामान, झोला सबै राम्ररी हेर्नुहोला । कसैको कुनै सामान नछुटोस् है ! सबै विद्यार्थी एक–एक गरेर आ-आफ्नो झोला बोकेर स्कुलको गेटबाट चिच्याउँदै भित्र छिरे ।

सबै विद्यार्थी निस्किसकेपछि प्रधानाध्यापकले पुनः शिक्षकलाई सोधे- भित्र केही छुट्यो कि ? गएर हेर्नुहोस् त सर !  प्रधानाध्यापकको आदेश पाएपछि शिक्षक पुनः बसमा चढे र यताउता नजर घुमाए । उनले त्यहाँ पानीका केही रित्ता बोतल, ‘जंक फुड’का खाली खोल र च्यातिएका केही कागज देखे । केहीअघिसम्म बोतलमा पानी र खोलभित्र खानेकुरा हुन्जेल ती सबैका कति प्यारा थिए, तिनले सबैका झोलाझोलामा ठाउँ पाएका थिए । तर, अहिले रित्तो हुनासाथ ती बसको भुइँभरि छरिएका थिए । तिनको कुनै मोल थिएन त्यहाँ । शिक्षकले एउटा खाली प्लास्टिकको झोलामा ती सबै बोतल र खाली खोलहरू खाँदे र बाहिर निस्किए । प्रधानाध्यापकले पुनः त्यही प्रश्न दोहोर्याए- अझै केही छुटेको त छैन नि ? शिक्षकले मुसुक्क मुस्कुराउँदै जवाफ दिए- छैन सर । 

जिन्दगीका अनेकौँ घुम्तीमा यो प्रश्नले कसै न कसैलाई सताइरहेकै हुन्छ- कतै केही छुट्यो कि ? हो, जीवनका मोडहरूमा हाम्रा कैयाैँ रहर, खुसी र आनन्द छुटिरहेका हुन्छन् । रित्ता बोतल र खाली खोलजस्तै हामीले हाम्रा रहरहरूलाई पनि त्यसैगरी फालेर दगुरिरहेका हुन्छौँ । तर, त्यसरी फालिएका वस्तुको पनि महत्व, मूल्य र उपयोगिता हुन्छ । त्यसैले, जहिल्यै केही छुट्यो कि भन्दै पछि फर्केर हेर्ने गरौँ ।

सुझावित समाचार