उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्ताे दाबी गरेका हुन्।
उनले भने, ‘छलफल गर्दै जाँदा एकजना माननीयजीले के भन्नुभयो भने अहिलेको गृह मन्त्रालय अपराध र भ्रष्टाचारको केन्द्र बनेको छ। के भन्नुभएको होला ? यो समाजले, यो सदनले, बाह्य समुदायले पनि त्यसलाई स्वीकार गर्ला ? त्यो स्वतः अस्विकार्य छ भन्ने स्पष्ट नै छ। तैपनि भनिदिनुपर्ने। त्यसकारले के परिणाम ल्याउँछ भन्ने कुरा हामीले विचार गर्नु पर्दैन ? अर्को एकजना माननीयले भन्नुभयो– अहिलेको प्रहरीहरूको पदोन्नतिमा आर्थिक चलखेलसमेत भएको चर्चा छ । त्यो शून्यमा झारिएको छ। म त्यो दाबीका साथ भन्न सक्छु। म ग्यारेन्टी गर्छु।’
गृहमन्त्री श्रेष्ठले प्रतिपक्ष विरोधभासमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। उनले सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने स्पष्ट पारे।
उनले भने, ‘सरकारको विरोध गर्नुपर्ने भएको कारणले प्रतिपक्षमा रहेकाहरूले प्रतिपक्ष शक्ति वा प्रतिपक्षमा रहेका माननीय सदस्य वा राजनीतिक नेता, कार्यकर्ताहरूले जस्तोसुकै ठीक काम गरे पनि विरोध गर्ने र विरोधवाद फस्ने, निषेधवादमा फस्ने खतरा रहन्छ । यो प्रतिपक्षमा मात्रै समस्या होइन । यो सरकारको पनि, सत्तापक्षमा पनि समस्या हुन्छ। सरकार सत्तापक्षसँग जोडिने स्वाभाविक चरित्रका कारण निरंकुश बन्ने, असहिष्णु बन्ने खतरा रहन्छ। यो लोकतन्त्रलाई हामीले साँच्चै सही ढंगले अभ्यास गराउने, लोकतान्त्रिक अभ्यासको औचित्य पुष्टि गर्ने र लोकतन्त्रलाई अझ उन्नत बनाउँदै जाने हो भने हामी सबैले आत्मसमीक्षा गर्न जरुरी छ। प्रतिपक्ष विरोधवादमा नफसौँ।’
उपप्रधानमन्त्री श्रेष्ठले वर्षातका कारण हुने विपत् जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा राखेको दाबी समेत गरे।