नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसद्ले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। संशोधन नहुने बजेटमाथि संसदमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले यसप्रति गम्भीर हुनुपर्ने प्रस्ट पारे।
‘सदनभित्र र बाहिर पनि उठेको छ, यदि बजेटमा कुनै पनि संशोधन गर्ने होइन भने यत्रो लामो छलफलको औचित्य के हो भन्ने महत्वपूर्ण प्रश्न उठेको छ,’ प्रमुख सचेतक लेखकले भने। बजेटको सवालमा संसद्को भूमिका निर्धारण गर्न जरुरी रहेको उनको भनाइ छ।
सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने लेखकले बताए।