नेपालका क्लब र रेस्टुरेन्टमा एलएसडी लागुऔषधको कारोबार

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

अहिलेसम्मकै धेरै परिमाणमा बरामद, कारोबारमा विदेशी नागरिक 

नेपालमा क्लब तथा रेस्टुरेन्टमा रसायनबाट बन्ने लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार हुन थालेको छ । विदेशी नागरिकहरू एलएसडीको कारोबारमा नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरीले एलएसडी लागुऔषधको कारोबारमा संलग्न दुई विदेशीसहितको गिरोहलाई पक्राउ गरेको छ । उनीहरूबाट १० हजार एक सय ३१ वटा एलएसडी लागुऔषध बरामद भएको र यो नेपालमा अहिलैसम्मकै ठूलो बरामद भएको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोले विशेष अप्रेसन चलाई काठमाडौं र पोखराबाट गिरोहका सदस्यहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठमेलका नाइट क्लब तथा विभिन्न होटल–रिसोर्टमा ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री हुँदै आएको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताए । 

गोविन्द थपलिया, एसएसपी, लागुऔषध नियन्त्रण ब्युरो
नेपालमा अहिलेसम्मकै धेरै एलएसडी ड्रग बरामद भएको छ । यो गिरोहको नाइकेमा विदेशी नागरिक छन् । एलएसडी ड्रग ट्रान्स पार्टीका लागि ल्याइएको देखिन्छ । यसतर्फ पनि हामीले अनुसन्धान अघि बढाएका छौँ । नेपालीहरू पनि यस्तो लागुऔषधको लतमा छन् । 

प्रहरीले विदेशबाट एलएसडी ल्याएर बिक्री गर्ने इटालियन नागरिक डेभिट मिनाडियोलाई समेत ठमेलबाट पक्राउ गरेको छ । उनले एजेन्टहरू बनाएर काठमाडौैं तथा पोखरामा समेत यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए । उनका सहयोगीहरू राज गौतम र चेक रिपब्लिककी मार्टिना सेर्नालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । काठमाडौंमा भने उनीहरूको मुख्य एजेन्ट मुखिया गुरुङ हुन् । गुरुङले पनि सुगम मैनालीलाई समेत एजेन्ट बनाएर ठमेलका क्लब तथा रेस्टुरेन्टमा यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए । 

इटालियन नागरिकबाट मात्र १० हजार ९८ वटा एलएसडी लागुऔषध बरामद भएको ब्युरोका एसपी चक्रराज जोशीले बताए । एउटा एलएसडीको नेपालमा उनीहरूले तीन हजारदेखि चार हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए । जसअनुसार बरामद लागुऔषधको अवैध बजार मूल्य करिब चार करोड रुपैयाँ पर्दछ । 

बैंककबाट भारत हुँदै नेपालमा सो लागुऔषध ल्याएको प्रहरीको आकलन छ । कागजमा टाँसेर कारोबार हुने भएकाले यस्तो लागुऔषध बरामद गर्न पनि कठिन हुने प्रहरी अधिकारी बताउँछन् । 

सो समूहले खासगरी ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री गर्दै आएको प्रहरी अधिकारी बताउँछन् । काठमाडौं, चित्लाङलगायत ठाउँमा यस्तो लागुऔषधको पार्टी भएको सूचना प्रहरीले पाएको थियो । पोखरामा पक्राउ परेका एक व्यक्तिले आफू पनि त्यस्तो पार्टीमा सहभागी भएको स्विकारेका छन् । 

पक्राउ परेका इटालियनसँग मेथमफेटामाइन तथा मुखियासँग कोकिनसमेत बरामद भएको छ । सामान्यतया नेपाली बजारमा कोकिनको खपत नहुनेमा यो अन्तर्राष्ट्रिय गिरोहले विदेशी पर्यटक तथा क्लबमा जानेलाई लक्षित गरी यस्तो लागुऔषधको कारोबार थालेको प्रहरीले जनाएको छ । मुखिया यसअघि याबा लागुऔषधसहित पक्राउ परेकोमा २७ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनका सहयोगीहरू दावा तामाङ र नरबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गोप्य रूपमा फस्टाउँदै ट्रान्स पार्टी 
कुन समय हिप्पीहरूको गन्तव्य रहेको नेपालमा अहिले पनि कतिपय विदेशी लागुऔषधकै लागि आउने गरेको प्रहरी अधिकारी बताउँछन् । त्यस्ता विदेशीका लागि गोप्य रूपमा लागुऔषधका पार्टीहरू चल्ने गर्दछन्, जसलाई ट्रान्स पार्टी तथा रिभ पार्टीका नामले चिनिन्छ । 

लागुऔषध नियन्त्रण ब्युरोका अधिकारीका अनुसार हालै मात्र काठमाडौंको नारायणस्थान, मकवानपुरको चित्लाङमा यस्तो पार्टी भएको सूचना आएको थियो । जसअनुसार प्रहरी त्यहाँ पुगे पनि प्रमाण संकलन गर्न सकेन । पोखरामा भने पार्टी भएको पुष्टि भएको छ । पक्राउ परेका एक व्यक्तिले सो कुरा पुष्टि गरेको त्यस विषयमा अनुसन्धान भइरहेको ब्युरोका एसपी चक्रराज जोशीले बताए । 

म्युजिक, लागुऔषध र मदिरामा रमाउनेलाई लक्षित गरी यस्ता पार्टी हुने गर्दछन् । यसमा अश्लील गतिविधिसमेत हुने गरेको जानकार प्रहरीहरू बताउँछन् । यस्तो पार्टी ७२ घन्टासम्म निरन्तर चल्ने गर्दछ । 

०७५ को चैतमा अर्घाखाँचीको बुङची खोलाको बगरमा ४० जना विदेशीलाई प्रहरीले नग्न अवस्थामा पक्राउ गरेको थियो । उनीहरू सबै लागुऔषधको नसामा दिए । अनुसन्धानका क्रममा त्यहाँ ट्रान्स पार्टी भएको पुष्टि भएको थियो । पोखराका विभिन्न ठाउँमा यस्ता पार्टी हुँदै आएका छन् । काठमाडौंको हात्तीवन रिसोर्टमा पनि केही वर्षअघि प्रहरीले छापा हानेको थियो । 

खासगरी एकान्त ठाउँ रोजेर ट्रान्स पार्टी हुने गरेका छन् । सामाजिक सञ्जालबाटै गोप्य रूपमा समूह बनाएर यस्ता पार्टी आयोजना हुने र त्यसमा धनाढ्य व्यक्तिहरू तथा पर्यटक सहभागी हुने ब्युरोका एक प्रहरी अधिकारी बताउँछन् । यस्ता पार्टी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

लामो समयसम्म लट्ठ बनाउने भएकाले यस्तो पार्टीमा सबैभन्दा धेरै एलएसडी लागुऔषध प्रयोग हुन्छ । हाल ठूलो परिणाममा बरामद हुनुले यस्ता पार्टीहरू समेत व्यापक रहेको र ठूला क्लबहरूमा समेत बिक्री हुने गरेको प्रहरीको दाबी छ । ब्युरोका एसएसपी गोविन्द थपलिया पछिल्लो घटनाले नेपालमा ट्रान्स पार्टी हुने गरेको संकेत भेटिएको भन्दै यसमा प्रहरीले गहन अनुसन्धान गर्ने बताउँछन् । 

See More On

सुझावित समाचार