पुल नापजाँच गर्ने क्रममा तमोर नदीले एक इन्जिनियरलाई बगायो

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा एक इन्जिनियरलाई तमोर नदीले बगाएको छ।

मोरङको बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग घर भएका इन्जिनियर २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका– ९ स्थित दिलुङटारबाट तमोर नदीले बगाएको हो। सहिदभूमि गाउँपालिका–१ सफाइ र साँगुरीगढी गाउँपालिकाको दिलुङटारस्थित तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ। सोही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रबार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए।

नदीको वारि सफाइ र पारी दिलुङटारमा इन्जिनियरहरू बसेर पुल निर्माणस्थलको नापजाँच गर्दै थिए। नदीकिनारको ढुंगामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको हो।

शुक्रबार साँझदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास जारी राखेको भए पनि नदीमा बाढी आएका कारण अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ। खत्री थापाथली क्याम्पसमा अध्ययन गर्दै आएका थिए। क्याम्पसबाट दुई दिनअघि मात्र ६ जनाको टोली सिभिल इन्जिनियरिङको प्रयोगात्मक अभ्यासका लागि धनकुटा आएको थियो।

सुझावित समाचार