मौलिकता झल्काउने चित्रकलामा बढ्दै छ आकर्षण

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

मिथिला पेन्टिङले हाम्रो मौलिकता, भूगोल, सम्प्रदाय र संस्कृतिलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । तराईमा सदियौंदेखि मिथिला चित्रकला फैलिएको छ । कतिपय समुदायमा बिहेलगायत समारोहमा मिथिला आर्टको प्रयोग अनिवार्य छ ।

हिजोआज घरका भित्तालाई चित्रकलाले सिँगार्ने चलन बढ्दो छ । सहरमा विशेषगरी प्रकृति, जनजीवन तथा विभिन्न संस्कृति झल्कने कलाकृतिको प्रयोग घरका प्रवेशद्वार तथा कोठामा गरिन्छ । कतिपयले मूर्ति बनाएर सजाउने गरेका छन् भने कतिपयले भित्तामा पेन्टिङ झुन्ड्याउन रुचाउँछन् । उपहारमा पनि चित्रकलाको प्रयोग व्यापक हुन्छ । नेपालका मौलिक चित्रकलामा स्वदेशी मात्रै नभएर विदेशीको पनि उत्तिकै आकर्षण छ । 

मिथिला आर्ट एन्ड क्राफ्ट प्रडक्टका निर्देशक तथा डिजाइनर विजयकुमार दत्त मौलिक चित्रकलाले घर सजाउनेको संख्या बढ्न थालेको बताउँछन् । ‘मिथिला पेन्टिङले हाम्रो मौलिकता, भूगोल, सम्प्रदाय र संस्कृतिलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । तराईमा सदियौंदेखि मिथिला चित्रकला फैलिएको छ । कतिपय समुदायमा बिहेलगायत समारोहमा मिथिला आर्टको प्रयोग अनिवार्य छ,’ उनले भने, ‘अहिले आएर पहाडमा पनि यसको प्रयोग बढ्दो छ । विशेषगरी, हाई प्रोफाइल व्यक्तिहरूले यस्ता चित्रकलाबाट घर सजाउने गरेका छन् । मिथिला आर्ट कोरिएका कपडा, ब्याग, रुमाललगायत सामग्री गिफ्टका रूपमा दिने चलन पनि बढ्दो छ ।’

कार्यालय र ठूला होटेलहरूमा पनि यस्ता क्यान्भासको प्रयोग व्यापक हुने गरेको उनले बताए । ‘परम्परागत स्वरूपको आफ्नै महत्व छँदैछ । मैले यसलाई हल्का फ्युजन गरेर बनाउने गरेको छु र कार्यालय तथा होटेलमा सजाउनका लागि यसको राम्रो डिमान्ड हुन्छ,’ उनले भने । आधुनिकीकरण गर्दा हात–खुट्टा, औँला र शरीरका आकार–प्रकारमा केही भिन्नता देखिने गरेको उनले बताए । ‘मिथिला चित्रकलामा कसनी र भर्नी भनिन्छ । कसनीमा ब्रस र कलरको प्रयोग कम हुन्छ । रङको ठाउँमा कलमको निबको प्रयोग हुन्छ । भर्नीमा चित्रलाई कलरले भर्ने गर्छौं । मेरो चाहिँ दुवैको फ्युजन हुन्छ,’ उनले भने । 

कलाकार पूर्णबहादुर तामाङ विशेषगरी बौद्ध दर्शनसँग सम्बन्धित चित्रहरू बनाउँछन् । ‘बुद्धिजमको आफ्नै दर्शन छ । बुद्धिजममा मण्डला, देउताहरूबारे बुझेर चित्र बनाउनुपर्ने हुन्छ । यस्ता चित्र घरका ढोकामा राख्नुको विशेष महत्व छ,’ उनी भन्छन्, ‘के गर्न हुन्छ र के गर्न हुँदैन भनेर यस्ता चित्रकलाले बुझाउने काम गर्छन् ।’ यस्ता चित्रकलाले मानिसलाई सकारात्मक र रचनात्मक रहन प्रेरित गर्ने उनले बताए । ‘बुद्धिजमको दर्शन भएको चित्रकला राख्दा मानिसमा सकारात्मक सोचको विकास हुन्छ । बिहान सकारात्मक भएपछि दिन आफैँ राम्रो भएर जान्छ । मस्तिष्कमा राम्रा कुरा खेल्छन् भन्ने मान्यता छ । त्यसैले पनि विशेषगरी, बुद्ध धर्ममा आस्था राख्नेहरू यस्ता चित्रमा आकर्षित हुन्छन् । विदेशीहरू पनि यसप्रति आकर्षित हुने गरेका छन् ।’ 

कलाकार कुन्द्रसिंह घर्तीमगर नेपाली जनजीवन झल्कने चित्र कोर्छन् । होटेल, रेस्टुराँ, पर्यटक तथा विदेशमा बस्ने नेपालीहरूले आफ्ना चित्र विशेष रूपमा मन पराउने गरेको उनको अनुभव छ । ‘म प्रकृतिसम्बन्धी चित्र बनाउँछु । प्रकृतिको सामीप्यमा रहेर ठेट जीवन बाँचिरहेका मानिसहरूको चित्र बनाउँछु,’ उनले भने, ‘त्यसैले होटेल, रेस्टुराँ तथा विदेश बस्ने नेपालीहरूको रोजाइमा मेरा चित्र पर्ने गरेका छन् । घरका भित्तामा खोला, झरना, खेत–गराहरूले सिँगारिएको चित्र राख्दा ऊर्जा पैदा हुन्छ । त्यस्तो चित्र देख्दा मनमा आनन्द दिलाउँछ,’ उनले भने, ‘आधुनिकताका कारण हामीले आफ्नोपन गुमाउँदै गएका छौँ । यसलाई कम्तीमा पनि चित्रकलामा सुरक्षित गर्ने मेरो प्रयास रहनेछ । त्यसैले जनजीवनसम्बन्धी चित्र बनाउँछु ।’

आफ्ना चित्रकला विदेशमा बस्ने नेपाली तथा विदेशीहरूले पनि लैजान गरेको उनले बताए । ‘पर्यटकहरू विभिन्न ठाउँ घुम्छन् र आधुनिकतातर्फ गइरहेको हाम्रो समाज हेर्छन् । नेपालको परम्परागत समाज र रहनसहन कस्तो थियो भन्ने कौतूहल सायद उनीहरूभित्र रहिरहेको हुन्छ । त्यसैले यस्ता चित्रले उनीहरूलाई पनि आकर्षित गर्छ,’ उनले भने ।

सुझावित समाचार