सम्राट् अकबर अक्सर आफ्ना मन्त्री र भाइ–भारदारलाई उखान एवं पहेलीहरू सोध्ने गर्थे । प्रायः उनका प्रश्न अनौठा र हास्यास्पद हुन्थे । उनका प्रश्नको जवाफ दिन निकै बुद्धिमत्ता चाहिन्थ्यो । एकपटक उनले एउटा असाध्यै अनौठो प्रश्न सोधे । दरबारका मन्त्री एवं भारदार उनका प्रश्न सुनेर अक्क न बक्क बने । कसैले उत्तर दिन्छ कि भनेर अकबरले आफ्ना भारदारतर्फ नजर डुलाए । तर, सबैको टाउको निहुरिन थाल्यो । सोचमग्न भएझैँ गर्न थाले ।
उनीहरूले के जवाफ दिने भन्ने भेउ पाउन सकिरहेका थिएनन् । त्यसै बखत पटांगिनीमा वीरबल टुप्लुक्क आइपुगे । सम्राट्को स्वभाव बुझेका वीरबलले तुरुन्तै परिस्थितिलाई आकलन गरे र भने, ‘महाराज ! म प्रश्न के थियो भनेर जान्न सक्छु, ताकि जवाफको प्रयास गर्न सकूूँ ।’ अकबरले भने, ‘यो सहरमा कागको संख्या कति छ ?’ एकछिन पनि नसोचेर वीरबलले जवाफ दिए, ‘मेरा हजुर यो सहरमा कुल ५० हजार पाँच सय ८९ वटा काग छन् ।’ वीरबलको जवाफ सुनेर अकबर सोध्छन्, ‘ठ्याक्कै यति नै छ भनेर तिमी कसरी निश्चित गर्न सक्छौ ?’
वीरबल उत्तर दिन्छन्, ‘महाराज ! कागहरूको गणना गर्न मान्छे खटाइबक्स्योस् । यदि तपाईंले यतिभन्दा धेरै काग फेला पार्नुभयो भने त्यसको मतलब ती आफ्ना नातेदारलाई भेट्न आएका हुन् । कम पाइयो भने त्यसको मतलब ती आफ्ना नातेदारलाई भेट्न अन्यत्र गएका हुन सक्छन् । वीरबलको बुद्धिमत्ताबाट अकबर निकै खुसी भए । यो कथाले बुद्धिमत्तापूर्ण जवाफ भनेको त्यो जवाफ हो, जसले प्रश्नको उपादेयता पूरा गर्छ भन्ने पाठ पस्किएको छ ।