टेस्ट मान्यताप्राप्त आयरल्यान्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो खेलमा स्तब्ध नतिजा हात पारेको छ। जिम्बावेको बुलावायोमा बुधबार स्कटल्यान्डले आयरल्यान्डलाई अन्तिम बलमा सनसनी एक विकेटको जित निकालेको छ। ग्लोबल छनोटको समूह ‘बी’मा आयरल्यान्डले लगातार दोस्रो खेलमा हारको सामना गर्दा सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ। यसअघि पहिलो खेलमा आयरल्यान्ड ओमानसँग पनि पराजित भएको थियो। अर्को खेलमा ओमानले युएईमाथि जित निकाली सुपर सिक्सको यात्रा बलियो बनाएको छ।
स्कटल्यान्ड अन्तिम बलमा विजयी
पहिलो ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो। प्रत्युत्तरमा स्कटल्यान्डले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८९ रन बनायो। स्कटल्यान्डलाई इनिङ्सको अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। इनिङ्सको ४९.१ ओभरमा लेआस्कले चौका प्रहार गरे। ४९.३ ओभरमा स्कटल्यान्डले साफयानलाई गुमायो। नयाँ ब्याट्सम्यान क्रिस सोलेले रन लिन सकेनन्।
४९.५ ओभरमा उनले एक रन लिए। इनिङ्सको अन्तिम बलमा सेट ब्याट्सम्यान माइकल लेआस्कले मार्क आदिलको बलमा चौका प्रहार गर्दै स्कटल्यान्डलाई रोमाञ्चक जित दिलाउन सफल भए। स्कटल्यान्डको जितमा माइकल लेआस्कले विस्फोटक ब्याटिङ गरेका थिए। उनले ६१ बलमा नौ चौका र चार छक्का प्रहार गरी सर्वाधिक ९१ रनको योगदान दिए। उनले साफयानसँग नवौँ विकेटका लागि ५० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई जितनजिक पुर्याए। इनिङ्सको ४५ ओभरमा स्कटल्यान्ड २३४–८ को अवस्थामा थियो। स्कटल्यान्डका लागि मार्क वाटले ४३ बलमा ४७ रनको योगदान दिए।
क्यामफेरको शतक ओझेलमा
आयरल्यान्डको ब्याटिङमा छैटौँ क्रममा ब्याटिङ गर्न आएका काउटिस क्यामफेरले शतकीय इनिङ्स खेले। उनी क्रिजमा आउनुअघि आयरल्यान्ड ७०–५ को स्थितिमा थियो। क्यामफेरले जर्जे डकक्रेलसँग छैटौँ विकेटका लागि १३६ रनको साझेदारी गर्दै आयरल्यान्डलाई ७०–५ बाट २०६–६ को स्थितिमा राखे। जर्जे म्याकमुलेनको ओभरमा आउट हुनुअघि ९३ बलमा ६९ रन जोडे। यस क्रममा उनले चार चौका र एक छक्का प्रहार गरे। क्यामफेरले १०८ बलमा नौ चौका र चार छक्का प्रहार गरे। बलिङको क्रममा ब्रान्डोन म्याकमुलेनले ३४ रन खर्चेर पाँच विकेट लिए।
ओमानको दोस्रो जित
ग्लोबल छनोटमा ओमानले युएईलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै ओमान समूह ‘बी’मा चार अंकका साथ शीर्ष स्थानमा रह्यो। युएईले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २७ रनको मध्यम योगफल खडा गर्यो। प्रत्युत्तरमा ओमानले ४६ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २८ रन बनायो। ओमानका लागि मोहमद नदिमले ५० रन सोयब खानले ५२ रनको योगदान दिए। यसैगरी, अकिव इलियासले ५३ रन तथा आयान खानले ४१ रन जोडे। यसअघिको ब्याटिङमा युएईका लागि आयन फजल खानले सर्वाधिक ५८ रन जोडेका थिए।