- २०८ रनको लक्ष्य पछ्याएको नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान भीम सार्कीले ११४ बलमा ७७ रनको योगदान दिए । उनले दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ७४ रनको साझेदारी गरे ।
- बलिङतर्फ करण केसीले ९ ओभरमा तीन मेडन राखी ३३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । करणकै घातक बलिङका कारण अमेरिका ९.२ ओभरमा १८–४ को कमजोर अवस्थामा थियो ।
आइसिसी विश्वकप एकदिवसीय ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जिम्बावेको हरारे रंगशालामा अमेरिकाले पहिलो ब्याटिङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रन बनाएको थियो ।
प्रत्युत्तरमा नेपालले ४३ ओभरमा केवल चार विकेटको क्षतिमा दुई सय ११ रन जोड्दै छनोट प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो । यसअघि नेपाल घरेलु टोली जिम्बावेसँग पहिलो खेलमा पराजित भएको थियो । अमेरिकामाथिको जितले नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ ।
करणको कसिलो बलिङ
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जित्दै अमेरिकालाई ब्याटिङ निम्तो दिएका थिए । अमेरिकाविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका बलर करण केसीले पुनः एकपटक त्यही प्रदर्शन निरन्तरता दिए । उनले केवल ९ ओभरमा तीन मेडन राखी ३३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । करणकै घातक बलिङका कारण अमेरिका ९.२ ओभरमा १८–४ को कमजोर अवस्थामा पुगेको थियो ।
करणले अमेरिकाका शीर्ष पाँचमध्ये चारजना ब्याट्सम्यानलाई क्रिजबाट हटाएका थिए । यसै प्रदर्शनका कारण करण खेलकै म्यान अफ दी म्याच भए । उनले अमेरिकाका ओपनर स्टेभेन टेलोर (४), सैतेजा मुक्कामला (०), कप्तान आरोन जोनेस (२) तथा केजिगे (१) को विकेट लिएका थिए । करणलाई गुल्सन झाले पनि साथ दिए । ललितले अमेरिकाका पुछारका ब्याट्सम्यानलाई आउट पारे । गुल्सनले १० ओभरमा ५२ रन खर्चेर तीन विकेट लिए ।
सायनको आक्रामक शतक
दयनीय सुरुवात र फितलो ब्याटिङ प्रदर्शन गरेको अमेरिकाका लागि छैटौँ क्रमका ब्याट्सम्यान सायन जाहांगिरले आक्रामक रूपमा ब्याटिङ गरेका थिए । उनले केवल ७९ बलमा सय रनको शतकीय इनिङ्स खेल्दा अमेरिकाले नेपाललाई दुई सयमाथिको लक्ष्य दिन सफल भएको हो । सायन क्रिजमा आउँदा अमेरिका ६५–५ को अवस्थामा थियो । उनले त्यसपछिका लगातार पाँच विकेटका लागि गतिलो साझेदारी गर्दै अमेरिकालाई सम्माजनक योगफलमा पु¥याए । सायनले क्रिजमा ११५ मिनेट बस्दा १० चौका र तीन छक्का प्रहार गरेका थिए । अमेरिकाको ब्याटिङमा दोस्रा ओपनर सुशान्तले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरी ४२ रन बनाए ।
भीम र दीपेन्द्रको जोडी चम्क्यो
नेपालले लक्ष्य पछ्याउँदा सबै ब्याट्सम्यानले दोहोरो रन बनाए । नेपालको ब्याटिङमा तेस्रो क्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक बनाए । उनले नेपालको जितमा महत्वपूर्ण ७७ रनको योगदान दिए । यसक्रममा उनले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । भीमले दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ७४ रनको साझेदारी गरे ।
यसक्रममा दुवैले प्रतिओभर ६.९३ रनको रनरेटमा ब्याटिङ गरेका थिए । दीपेन्द्रले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३९ रन बटुले । उनले नै नेपालका लागि विजयी चौका प्रहार गरे । भीम ९ रनमा क्याचआउट हुनबाट जोगिएका थिए । एक जीवनदान पाएका भीमले त्यसको फाइदा उठाए । १०.६औँ ओभरमा फस्ट स्लिपमा स्टिभ टेलरले भीमको सहज क्याच मिस गरेका थिए । अमेरिकाविरुद्धको प्रदर्शन भीमको एकदिवसीय खेलकै उच्च प्रदर्शन हो ।
यसअघि उनले आइसिसी विश्वकप लिग–२ मा युएईविरुद्ध ७० रनको इनिङ्स खेलेका थिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५४ बलमा चार चौका र एक छक्का प्रहार गरी ३९ रन बनाए । कप्तान रोहितले २९ बलमा १६ रन र आसिफ शेखले १२ रन जोडे ।
वेस्ट इन्डिजसँग सतर्क हुनुपर्छ
रोहितकुमार पौडेल, कप्तान, नेपाल
अमेरिकासँगको जितले नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना बलियो भएको छ । आजको खेलमा करण र ललित दाइले राम्रो सुरुवात गर्नुभयो । यो जितबाट निकै खुसी छु । हामी प्रत्येक खेल जितका लागि खेलिरहेका छाैँ । यसपटक कन्डिसनको राम्रो प्रयोग गर्यौँ । अमेरिकासँगको खेलमा भीमले निकै राम्रो ब्याटिङ गरे । अब हामी यसैअनुरूप वेस्ट इन्डिजसँग खेल्छौँ । वेस्ट इन्डिजसँग सतर्क भएर खेल्छौँ । वेस्ट इन्डिजविरुद्ध खेलका लागि प्रतीक्षा गरिरहेका छौँ ।
योजनाअनुसार खेल भयो
करण केसी, बलर, नेपाल
हामीले अमेरिकाविरुद्ध योजनाअनुसार नै प्रदर्शन गर्न सफल भयौँ । टस जितेर बलिङ रोजेपछि कन्डिसनको फाइदा उठाउनु थियो । हामीले सुरुवातमै विकेट लियौँ । त्यसपछि योजनाअनुसार नै खेल अघि बढ्यो । आजको जितले नेपाल सुपर सिक्स पुग्न सहज देखिएको छ । यसका लागि बाँकी दुईमध्ये एक खेल जित्नुपर्नेछ । सुपर सिक्समा पुग्ने लक्ष्य हासिल गर्छौं भन्ने विश्वास छ । अमेरिकासँगको खेलमा भीम र दीपेन्द्रले निकै राम्रो ब्याटिङ गरे ।
हामीले सामान्य लक्ष्य दियौँ
आरोन जोनेस, कप्तान, अमेरिका
हामीले नेपालसमक्ष लक्ष्य बलियो राख्न सकेनौँ । जब स्कोरबोर्डमा कम योगफल हुन्छ, त्यसवेला जित निकाल्न गाह्रो पर्छ । ब्याटिङका साथै बलिङसमेत खराब भयो । विकेटको कन्डिसनअनुसार पहिलोभन्दा दोसो इनिङ्स सहज देखिएको थियो । हामीले लक्ष्य पछ्याउँदा नेपालकै जस्तो सहज रूपमा ब्याटिङ गथ्र्यौं होला । ब्याटिङ इनिङ्समा स्यापन उत्कृष्ट देखिए । लगातार दुई खेलमा पराजित भएपछि अमेरिका पक्कै कठिन अवस्थामा छ । तर, हामीले विश्वकप खेल्ने सपना त्यागेका छैनौँ ।