कांग्रेस रूपान्तरण अभियानमा सुझावै–सुझाव : विशेष महाधिवेशनका लागि दबाब

संस्थापन पक्ष भन्छ– सभापतिको विकल्प खोज्नु विधान र महाधिवेशनको म्यान्डेटविपरीत

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

मुख्य मुद्दा रूपान्तरण हो, यसका लागि नेतृत्व आफैँमा परिवर्तन हुने र तत्काल देखिने गरी काम गर्न प्रतिबद्ध हुनुपर्यो, होइन भने नेतृत्व परिवर्तनको बाटोमा जानुपर्छ भन्ने सुझाव आएको छ : मधु आचार्य केन्द्रीय सदस्य, कांग्रेस

कांग्रेस रूपान्तरण अभियानमा अहिलेको सबैभन्दा महत्वपूर्ण मुद्दा नेतृत्वमा सुधार या परिवर्तन रहेको सुझाव आएको छ। अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेश र डायस्पोराको भेला सकिँदा पार्टी सुधारका कैयौँ सुझाव प्राप्त भएको नेताहरूले बताएका छन्। 

केन्द्रीय सदस्य मधु आचार्यका अनुसार नेतृत्वबाट सुधारका बलियो प्रतिबद्धता नआए परिवर्तनको विकल्पमा जानुपर्ने सुझाव आएको छ। ‘मुख्य मुद्दा रूपान्तरण हो। यसका लागि नेतृत्व आफैँमा परिवर्तन हुने र तत्काल देखिने गरी काम गर्न प्रतिबद्ध हुनुपर्यो, होइन भने नेतृत्व परिवर्तनको बाटोमा जानुपर्छ भन्ने सुझाव आएको छ। परम्परागत गुट रहनुहुँदैन भन्ने आवाज छ, समग्रमा पार्टी एक एकठाउँमा हुनुपर्छ भन्ने आवाज छ। हामीले पार्टी हितकै लागि अभियान गरेका हौँ। तर, दुःखको कुरा सभापतिले एकपटक पनि हामीलाई बोलाएर छलफल गर्नुभएन,’ उनले भने।

आचार्यका अनुसार निर्वाचनअघि गठबन्धन नगर्न सुझाव आएको छ। ‘चुनावपूर्व गठबन्धन गरेर जानुहुँदैन र अबको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भन्ने छ,’ उनले भने। भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचार प्रकरणमा आरोप लागेकालाई तत्काल निलम्बन गर्नुपर्ने सुझाव पनि आएको आचार्यको भनाइ छ। 

आइतबार आठौँ प्रदेशका रूपमा डायस्पोरा भेलासँगै पहिलो चरणको कार्यक्रम सकिएको हो। उनले अर्को चरणको कार्यक्रम छलफलबाट तय हुने बताए। ‘सबैको सुझाव संकलन गरेका छौँ। सुझावलाई समेटेर बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्छौँ। बृहत् भेला आयोजना गर्छाैँ। यसबीचमा केन्द्रीय समिति बैठक बस्यो भने बैठकमा यो विषय लान्छौँ। भएन भने जिल्ला–जिल्लामा अभियान थाल्छौँ र नयाँ बाटो तय गर्छौँ,’ केन्द्रीय सदस्य आचार्यले भने।

अभियानको तेस्रो पुस्ताका नेताले नेतृत्व गरिरहेका छन्। भेलामा पहिलो र दोस्रो पुस्ताका नेता भने सहभागी छैनन्। आयोजकले गुटविशेष भेला नरहेको दाबी गरेको छ। तर, देश दौडाहामा अधिकांश इतरसमूहका नेताहरू देखिन्थे। नेताहरूले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सभापतिकै कारण काम गर्न नसकेको भन्दै महामन्त्रीको भने बचाउ गरेका थिए भने सभापति देउवाको आलोचना गरेका थिए। भेला विशेष महाधिवेशनसम्मको रणनीतिअनुसार भएको नेताहरू बताउँछन्। अभियान ११ जेठमा मधेस प्रदेशबाट सुरु भएको थियो। 

अभियानमा सक्रिय पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे तल्लो तहमा पार्टी सञ्चालन र शासनशैलीलाई लिएर निराशा, आक्रोश र गुनासा देखिएको बताउँछन्। ‘पार्टीमा सुधार आवश्यक छ। सरकार र पार्टीको पर्फमेन्स बेदाग रहनुपर्छ। नेतृत्वमा सुधार गर्नुपर्छ, नभए नेतृत्व फेर्न पनि लाग्नुपर्छ। यो शैलीले पार्टी रहन सक्दैन भन्ने सुझाव आएका छन्,’ उनले भने, ‘सुझाव समेटेर पार्टीलाई बुझाउँछौँ। पार्टीले संस्थागत गरेर लान सक्छ।’

भेलामा सबै पक्ष सहभागी रहेको र पार्टी सुधारका पक्षमा मत जाहेर गरेको उनको दाबी छ। ‘कुनै गुटको नेता बोलाएका छेनौँ। सहभागी हुन सबैलाई आह्वान गरेका हौँ। तर, परम्परागत सोच रहेकाले भेलामा एउटा पक्षको मात्र फेस देखिएको हुन सक्छ,’ उनले भने।

नेता जगदीश्वरनरसिंह केसीले कांग्रेस अहिलेको अवस्थाले चल्नै नसक्ने सुझाव आएको बताए। उनले केन्द्रीय नेतृत्व नै विधानविपरीत चल्दा कांग्रेसको अस्तित्वमाथि चुनौती थपिएको बताए। कांग्रेसमा तत्काल सुधारको आवश्यकता रहेको गुनासो आएको उनको भनाइ छ। ‘मुहान सफा नभएसम्म तल्लो तहसम्म सुधारको लहर आउन सक्दैन। कांग्रेसमा शुद्धीकरण आवश्यक छ भन्ने सबैको एउटै गुनासो रह्यो,’ उनले भने, ‘कांग्रेसको विचार र भावना बुझेर सबैलाई समान अवसर दिनुपर्छ भन्ने आवाज छ।’ उनले सदस्यता, टिकट वितरणलगायतमा सुधार, भ्रष्टाचार प्रकरणमा आरोप लागेकालाई तत्काल निलम्बन तथा ०८४ को निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ भन्ने मत रहेको बताए। 

युवा नेता भूपेन्द्रजंग शाहीले केन्द्रबाटै सुधार हुनुपर्ने आवाज आएको बताए। उनले तल्लो तहमा कांग्रेस रूपान्तरणका पक्षमा तीव्र लहर देखिएको दाबी गरे। रूपान्तरण अभियानले कांग्रेस सुधारका लागि जनलहर तयार गरेको उनको भनाइ छ । ‘४४ डिग्रीको राप सहेर हामी देशभर पुग्यौँ। तल्लो तहका नेता–कार्यकर्ता र युवाको मनमा त रूपान्तरणको आगो नै बलेको पायौँ। तल्लो तहसम्म अभियान पुग्दा रूपान्तरणको भावना झन् जागरुक बनेको छ। कांग्रेस रूपान्तरणका लागि पार्टीमा एकमत छ,’ उनले भने।

संस्थापन पक्ष भन्छ– सभापतिको विकल्प खोज्नु विधान र महाधिवेशनको म्यान्डेटविपरीत

कांग्रेस रूपान्तरण अभियानका नाममा भएका भेलामाथि संस्थापन समूहको प्रश्न छ। रूपान्तरणका नाममा सभापतिको विकल्प खोज्नु पार्टी विधान र महाधिवेशनको म्यान्डेटविपरीत भएको यो समूहको भनाइ छ। कांग्रेस प्रचार विभाग प्रमुख तथा देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा महाधिवेशनबाट निर्वाचित सभापतिलाई जित्नेबित्तिकै छाड्नुपर्यो भनेर रोइलो गर्नु उचित नहुने बताउँछन्। अभियानमा संलग्न नेताले दोहोरो चरित्र देखाएको उनको दाबी छ।

‘१३औँ महाधिवेशनमा देउवा सभापति निर्वाचित भएबाटै उहाँहरूको गतिविधि सुरु भएको हो। १४औँमा उहाँ पराजित हुनुहोला भन्ने थियो, तर सभापतिमा दोहोरिनुभयो,’ उनले भने, ‘जितेपछि छाड्नुपर्यो भन्नु महाधिवेशनको म्यान्डेट र विधानविपरीत हो। पार्टी हितविपरीत अनौपचारिक भेला गर्नु हास्यास्पद छ।’ उनले यस्ता विषय पार्टीकै फोरममा उठाउन सकिने बताए। ‘तर, उहाँहरू उत्ताउलो र उत्तेजित भएर लाग्नुभएको छ,’ उनले भने, ‘नीति अधिवेशन हुन बाँकी छ, यस्ता विषय त्यहाँ छलफल हुनुपर्छ।’ 

सुझावित समाचार