इस्मा गाउँपालिका– ४ दोहली लामीडाँडाका १६ वर्षीय प्रतीक पल्लीमगर जटिल रोगका कारण समस्यामा परेका छन्। डिलकुमारी पल्लीमगरका कान्छा छोरा प्रतीकको टाउकोमा बिस्तारै खाल्डो परिरहेको छ।
आमाले छोराको समस्या पत्तो पाएको एक महिना मात्र भयो। प्रतीक आफैँले तीन महिनादेखि महसुस गरेका थिए। समस्या बाहिर भनेनन्, बरु टोपीले छोपेर हिँडे। समस्या बल्झिँदै गएपछि अहिले उपचारका लागि उनीहरू अस्पताल दौडिरहेका छन्।
गुल्मी अस्पतालबाट पाल्पा रेफर भए। पाल्पाले पनि उपचार नहुने भनेर काठमाडौं पठाएपछि प्रतीकसँगै परिवार नै शोकमा डुबेको छ। डिलकुमारीको जेठा छोराले पनि ८ वर्षको उमेरमै २० वर्ष पहिले म्यानेन्जाइटिसका कारण ज्यान गुमाएका थिए। चार दिदीहरूका एक्ला भाइ प्रतीक पनि बिरामी परेपछि पल्ली परिवार पीडामा परेको छ।
काम खोज्दै भारत पसेका बुबाको कमाइ राम्रो छैन। आमा डिलकुमारीले गाउँमा मेलापात गरेर परिवार हुर्काइन्। सबै छोरीहरूले बिहे गरे। घरमा भएका आमाछोरामध्ये प्रतीक बिमारले अत्तालिएर अस्पताल दौडिरहेका छन्। तर, उपचार गर्ने पैसा छैन। रोग र उपचार के हुने पत्तो छैन। छोरीहरूको बिहे र परिवारको पालनपोषणमा लागेको ऋण सम्झेर डिलकुमारी सुस्केरा हाल्छिन्।
‘साहूको आठ-नौ लाख ऋण छ। अब त माग्दा दिने कोही छैन। गाउँको पखेरोले ऋण तिर्न पुग्दैन,’ उनले दुःख सुनाइन्, ‘छोराको उपचार भगवान भरोसा बन्यो।’ उनले उपचारमा सहयोग गरेर छोरालाई बचाइदिन आग्रह गरिन्। सहयोगको लागि धनबहादुर मगरको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता नं ११९०५३००००७७०२ मा रकम जम्मा गर्न वा मोबाइल नं ९७४२९८१२८५ मा सम्पर्क गर्न आग्रह गरेकी छिन्।