धादिङमा अतिरिक्त हुलाकका कर्मचारीद्वारा धर्ना

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

सरकारले बजेटमार्फत देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै यसमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन्। उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग राख्दै अतिरिक्त हुलाक कार्यालय धादिङमा कार्यरत कर्मचारीहरूले मंगलबार विरोधसहित धर्ना दिएका छन्।

अतिरिक्त हुलाक खारेज गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने कर्मचारीहरूले चेतावनी दिएका छन्। सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा वृद्धि गरिरहँदा सरकारले अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई असमान र अन्यायपूर्ण व्यवहार गरेको उनीहरूको आरोप छ।

‘सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यको बुँदा नं. ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति अतिरिक्त हुलाक एसोसियसनले सरकारको ध्यानाकर्षण गराएको हो,’ एसोसियसन धादिङका अध्यक्ष बुद्धिराज थपलियाले भने, ‘समयसापेक्ष अतिरिक्त हुलाक स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको हो।’

अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाकबाहक गरी तीन तहका कर्मचारी छन्। हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैयाँ तलब पाउँछन् भने वितरक र डाकबाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलब पाउँछन्। ‘राज्यले अहिले यी कर्मचारीहरूलाई घर न घाटको बनाएको छ। मानवीय संवेदना पनि भुलेको देखिन्छ,’ थपलियाले भने।

धादिङमा ३७ वटा अतिरिक्त हुलाकमा एक सय ३३ कर्मचारी छन्। कार्यालय खारेज गर्ने नै भए पनि उचित सम्मानसहित कर्मचारीलाई बिदाइ गर्नुपर्ने उनीहरुको माग छ।

सुझावित समाचार