आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अस्पतालका प्रबन्ध निर्देशक डा. अभिशेक थापाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । सम्झौतामा हस्ताक्षरपछि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफ्ना ग्राहकलाई आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन उनको आग्रह थियो ।