ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा शनिबार राति गएको पहिरोमा परी घाइते भएका ४५ वर्षका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पुर्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भए पनि घाइते राईलाई मंगलबार बिहान मात्र विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको बताइएको छ ।
कोसी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँले मंगलबार बिहान ७ः३५ बजे विराटनगर पुर्याइएको जानकारी दिए । बानियाँका अनुसार मेहेलेदेखि सोमबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भए पनि मौसममा आएको खराबीका कारण हेलिकोप्टर पाँचथरको पिनासेघाटमा अवरतरण गराउनुपरेको थियो ।
मौसममा सुधार नआएपछि मंगलबार बिहानसम्म हेलिकोप्टर त्यहीँ राख्नुपरेको थियो । उद्धार गरिएका राईलाई गन्तव्यमा पुर्याउन नसकिएपछि सोमबार साँझ पाँचथर, हिलिहाङस्थित गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी र औषधि झिकाएर प्राथमिक उपचार गरिएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले जानकारी दिइन् ।
निरन्तरको वर्षाका कारण मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परेर राई गम्भीर घाइते भएका थिए । सोही पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ वर्षीय सुरेश राई रहेका छन् ।
यता दाहसंस्कार गर्ने आफन्त जिल्लाबाहिर रहेका कारण बाबुछोराको शव हाल मेहेलेस्थित नीलगिरि माध्यमिक विद्यालयमा राखिएको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिइन् । अहिलेसम्म ताप्लेजुङमा पहिरोमा परी तीनजनाले ज्यान गुमाएका छन् भने तीनजना हराइरहेको प्रजिअ चेम्जोङले बताएकी छिन् ।