समाजवादी मोर्चा घोषणालाई कसरी हेर्नुभएको छ ?
सबैभन्दा पहिले त समाजवाद कहाँ छ र समाजवादीहरू कहाँ के गर्दै छन् भनेर खोज्नुपर्ने स्थिति छ । नारामा समाजवाद भेटिए पनि व्यवहारमा भने समाजवाद कहाँ छ भन्ने प्रश्न जोडदार रूपमा उठिरहेको समयमा समाजवादी मोर्चा बनेको छ । यसले संसदीय अंकगणितमा बलियो देखिन दलहरूलाई केही सघाउला । उनीहरूको ‘बार्गेनिङ’ शक्ति बढाउला । विप्लवलाई संसदीय राजनीतिक बाटोमा हिँड्न सजिलो पनि होला । यसबाहेक अर्को कुनै अपेक्षा गर्न कठिन छ ।
मोर्चा घोषणाले देशको राजनीतिमा कस्तो प्रभाव पार्ला ?
यसले ककस्ता काम गर्छ ? यसको उद्देश्य के हो ? यसले लिने नीति के हो ? यसबारे प्रस्ट नभई राजनीतिमा यसले यस्तै प्रभाव पार्ला भन्न कठिन छ । यसबाट अहिलेको संसदीय राजनीतिमा अंकको प्रभाव चाहिँ थोरै पर्न सक्छ ।
जुट्ने अनि फुट्ने, फेरि जुट्ने अनि फेरि फुट्ने कम्युनिस्टहरूको यो मोर्चा कति टिकाउ होला ?
मोर्चामा सम्मिलित राजनीतिक दलहरू नै टिकाउ छैनन् । उनीहरू नै पटकपटक टुट्दै, फुट्दै र जुट्दै आएका छन् । माओवादी आफैँ कैयौँ टुक्रामा विभाजित छ । एकीकृत समाजवादी आफैँ अर्को दलबाट फुटेर आएको हो । जसपाको पनि टुटफुटको ताजा इतिहास छर्लंग छ । यो मोर्चा बनाउन दौडधुप गर्नुहुने बाबुरामजीको पार्टी सुरुमै मोर्चामा अटाउन सकेन । यसको सर्वस्वीकार्य एजेन्डा छैन । त्यसैले, यो लामो समय जाला भन्नेमा शंकै छ ।