चार दलको समाजवादी मोर्चा घोषणा

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

वाम–समाजवादी शक्ति ध्रुवीकरणको प्रयास, प्रतिगमनविरुद्ध संघर्ष प्राथमिकता 

सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर समाजवादी मोर्चा निर्माण गरेका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले संयुक्त रूपमा बनाएको मोर्चाले वाम–समाजवादी शक्ति ध्रुवीकरणको प्रयास गर्ने जनाउ दिएको छ । 

मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति रहने र त्यसले अन्य दलहरूसँग सहकार्यको प्रयास गर्ने उल्लेख छ । ‘समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेका र मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्नेछ,’ मोर्चाले वाम–समाजवादी ध्रुवीकरणबारे संकेत गरेको छ । 

चार दलले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना प्रमुख उद्देश्य राखेर मोर्चा बनाएका छन् । उद्देश्य प्राप्तिका लागि मोर्चाका १५ बुँदे वैचारिक–राजनीतिक प्रतिबद्धता छन्, जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै समाजवादको नेपाली बाटो तय गर्नेलगायतका उद्देश्य समेटिएको छ । 

मोर्चाको औपचारिक घोषणा कार्यक्रममा नेताहरूले राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरू एकताबद्ध भएको बताए । उनीहरूले मोर्चाको संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य रहेको दाबी गरेका छन् । 

घोषणा सभामा मोर्चामा आबद्ध चारै दलका शीर्ष नेताले प्रतिगमनको विरुद्धमा र अग्रगमनको पक्षमा मोर्चा क्रियाशील हुने उद्घोष गरे । उनीहरूले देशभक्त, प्रगतिशील र वाम–समाजवादी दलहरूलाई समावेश हुन आह्वानसमेत गरे । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले मोर्चा घोषणा दूरगामी महत्वको रहेको दाबी गर्दै परिवर्तन पक्षधरलाई हालेमालो गर्न आह्वान गरे । ‘अन्य वामपन्थी, प्रगतिशील र परिवर्तनका पक्षधरलाई पनि विनम्रतापूर्वक अपिल गर्न चाहन्छु, इतिहासतिर फर्कियौँ । त्रुटिलाई हेरौँ, आत्मसमीक्षा गरौँ,’ प्रचण्डले भने, ‘नयाँ युगतिर देशलाई लैजान मोर्चा पहिलो पाइलो हो । परिवर्तनका पक्षधर आउनुस्, हात मिलाऔँ ।’ 

प्रचण्डले मोर्चा देशलाई प्रतिगमनतिर लैजानेका लागि चुनौती हुने बताए । ‘मोर्चा सबैका लागि सहकार्य होइन । मोर्चा प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने, प्रतिक्रान्तिकारी र प्रतिगमनकारीविरुद्ध हो,’ प्रचण्डको भनाइ थियो, ‘अराजक र प्रतिगामी प्रवृत्तिका केहीले टाउको उठाउन खोजेका छन् । यो मोर्चा तिनका विरुद्ध पक्कै युद्धको घोषणा हो । स्थापित जनअधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेका लागि मोर्चा चुनौती हो ।’

उनले मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीलाई एकताबद्ध गराउने अभियान भएको पनि बताए । ‘१२बुँदे सझदारी, विस्तृत शान्तिसम्झौता र संविधान निर्माणमा कुनै न कुनै रूपमा भूमिका खेलेका शक्ति आउनुस्, हातेमालो गरौँ,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनु छ । त्यसलाई बिथोल्न खोल्ने प्रतिगामीलाई यो मोर्चा चुनौती हो । सरकार, सदन र सडकबाट राष्ट्र र जनताको पक्षमा नयाँ अभियानको थालनी भयो ।’ 

प्रचण्डले विगतमा मोर्चा बनाएर गरिएको अभियान सफल भएको स्मरणसमेत गरे । तर, एकैपटक पार्टी एकता गर्दा सफल हुन नसकेको उनको भनाइ छ । ‘पार्टी एकतै गर्ने हतार गरेछौँ कि ? त्यतिवेला मोर्चा बनाएर एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौँ कि ?’ नेकपा एकताको प्रसंग उल्लेख गर्दै प्रचण्डले भने, ‘निश्चित उद्देश्य राखेर मोर्चा बनाउँदा सफल भएको छ । फड्केर पार्टी एकता गरेर जाँदा दुर्घटना भएको छ । हिजोको अनुभवको नयाँ संश्लेषण भएको छ । हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन ।’ निर्वाचनअघि नै समाजवादी मोर्चा बनाउने कुरा भए पनि ढिलो गरी घोषणा भएको उनले स्मरण गरे । 

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले कसैलाई तर्साउन र कसैसँग मुकाबिला गर्न मोर्चा नबनेको स्पष्ट पारे । ‘हामी समाजवादी शक्तिको जनतामा रहेको प्रभाव विस्तार गर्न चाहन्छौँ । समाज र राजनीतिमा भएका विकृति र विसंगतिविरुद्ध एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ । कसैलई तर्साउन र कसैसँग मुकाबिला गर्न पनि मोर्चा बनेको होइन,’ उनले भने, ‘कसैलाई तर्साउन चाहेका होइनौँ । तिनै तर्सिन्छन् जो परिवर्तनको पक्षमा छैनन्, गणतन्त्रको पक्षमा छैनन् । प्रतिगमनको पक्षमा कोही लाग्न चाहन्छ वा परिवर्तनको विपक्षमा कोही उभिन चाहन्छ भने मुकाबिला हुन्छ । अग्रगामी चिन्तन बोकेकाहरू एक ठाउँमा उभिएका छौँ ।’ 

नेपालले ०४६ सालको जनआन्दोलन, ०६२/६३ को दोस्रो जनआन्दोलन वाममोर्चा र कांग्रेसको सहकार्यमा सम्पन्न भएको स्मरण गरे । उनले मोर्चा स्वार्थमा आधारित नरहेको दाबी गरे । ‘विषयवस्तुमा गम्भीर बहस गरेर समाजवादी मोर्चा गठन गरेका छौँ । यो स्वार्थको मोर्चा होइन, सिद्धान्तहीन र विचारहीन मोर्चा होइन । प्रतिगमनका विरुद्ध सम्पूर्ण देशभक्त र परिवर्तनकारी शक्ति एकताबद्ध बनाएर अगाडि लान चाहन्छौँ,’ नेपालले भने, ‘समाजवादी बाटोमा अगाडि बढ्न चाहेका सबैलाई सँगै अगाडि लैजान चाहन्छौँ । हामीमा संकीर्णता छैन । परिवर्तनकारी सबै शक्ति समेटेर अगाडि बढ्न चाहन्छौँ । छुटेकालाई हातेमालो गर्न आग्रह गर्न चाहन्छु ।’ 

समाजवादको लक्ष्य साकार पार्ने तथा सरकार, सदन र सडकबाट जनताको आवाज बुलन्द गर्ने उनले उद्घोष गरे । ‘०४६ को आन्दोलनमा वाममोर्चा बनाएका थियौँ । कांग्रेससँग सहकार्य गर्दै पञ्चायतलाई परास्त गर्‍यौँ । ०६२/६३ मा पनि मोर्चा थियो, जसले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापन भयो । अहिले मोर्चामा सत्तामा भएका पनि छौँ, सत्ताबाहिर भएका पनि छौँ । सबै शक्तिलाई समेटेर अगाडि बढ्न चाहन्छौँ । छुटेकालाई पनि हातेमालो गर्न आग्रह गर्न चाहन्छु,’ नेपालले भने । 

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै केन्द्रित हुनु नहुनेमा जोड दिए । ‘जनताका समस्या ज्युँकात्युँ छन् । विदेशी हस्तक्षेप बढेको छ । प्रगतिशील, देशभक्त एकजुट हुनुको विकल्प छैन । मोर्चा गठन पहिलो पाइला हो । सबै क्रान्तिकारीलाई एकताबद्ध गर्दै अगाडि बढनुपर्छ,’ उनले भने, ‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस् । यसरी मात्रै देशको भविष्य उज्ज्वल बनाउन सक्छौँ । समाजवाद एक मात्रै विकल्प हो । यही व्यवस्थाबाट राष्ट्रियताको रक्षा हुन्छ । कृषिक्रान्ति, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न सकिन्छ । आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ 

जसपा अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्न मोर्चा निर्माण भएको बताए । ‘पछाडि धकेल्ने काममा एकथरी शक्ति लागेका छन् । अर्कोथरी यथास्थितिमा बस्न चाहेको छ । परिवर्तनकारी शक्तिहरू मोर्चाबद्ध भएर अगाडि बढ्ने प्रयास भएको छ,’ यादवले भने, ‘समानता, सामाजिक न्याय र सम्पन्नताका लागि मोर्चाको गठन भएको हो । यो मोर्चाबाट केही तर्सिनुपर्दैन । हामी परिवर्तन, राष्ट्रनिर्माण र समस्या समाधान गर्दै अगाडि बढ्न चाहन्छौँ । हामी कसैको विरुद्धमा छैन । कोही नतर्सिए हुन्छ । देश र जनताको हितका लागि, मुलुकको अग्रगमन परिवर्तनका लागि अगाडि बढ्छौँ । प्रतिगमनकारी शक्ति जो प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेलेका छन्, निश्चित रूपमा तिनका विरुद्ध यो मोर्चा खडा हुनेछ ।’

राजनीतिक रूपमा धेरै काम गर्न बाँकी रहेको उनले आँैल्याए । नागरिकताबाट आफ्नै देशका नागरिकका सन्तान वञ्चित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘संसद्ले दुई–दुईपटक विधेयक पारित गरिसक्यो । विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्दा पनि अवरोध खडा गर्ने काम हुन्छ । नागरिकका सन्तानलाई गैरनागरिक बनाउने कामको जनस्तरबाटै खबरदारी गर्नुपर्ने र अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । 

नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चा प्राप्त उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने बताए । ‘नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नेमा दृढसंकल्पित छौँ । आउँदो भविष्य कुनै पनि मूल्यमा शासकहरूको हुन सक्दैन । कुनै पनि मूल्यमा प्रतिगामीहरूको हुन सक्दैन । कुनै पनि मूल्यमा विदेशी तŒवको हुन सक्दैन । नेपालको भविष्य नेपाली जनताको हो । नेपाली जनताले सुनिश्चित गर्नुपर्छ ।’ 

नेपाललाई आजको गोलचक्करपूर्ण अवस्थाबाट अगाडि बढाउनुपर्ने आवश्यकता उनले औँल्याए । ‘नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने, स्वाधीनता समाप्त पार्ने, युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने, २१औँ शताब्दीको गुलाम बनाउने काम स्वीकार्य छैन,’ उनले भने, ‘नेपाललाई आजको गोलचक्करबाट अगाडि बढाउनुपर्छ । आशा, विश्वास र उज्यालो भविष्यतर्फ अगाडि बढाउनुपर्छ । जित्न सकिन्छ । यो देश बनाउने जिम्मा हाम्रो हो । तपाईंहरू कोही पनि निराश हुन जरुरी छैन ।’ समाजवादी मोर्चाले नेपाली जनताको भावनाअनुरूप संगठित भएर कार्यक्रमहरू अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

सुझावित समाचार