जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भिन्दाभिन्दै धारणा र सिद्धान्त हुँदाहुँदै पनि राष्ट्रहितका लागि साझा मुद्दाहरूमा सहमत भएर समाजवादी मोर्चाको गठन भएको बताएका छन् ।
आज समाजवादी मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै उनले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न र बाँकी राजनीतिक तथा आर्थिक अधिकार प्राप्त गर्नु मोर्चाको ध्येय हुने बताए ।
‘विगतका जनआन्दोलन, सशस्त्र जनयुद्ध, मधेस जनविद्रोहलगायतका विभिन्न आन्दोलनको परिणामस्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन पुगेको हो,’ उनले भने, ‘तर, उपेक्षित, शोषित, पीडित जनताले त्यो परिवर्तनलाई अनुभूत गर्न पाएका छैनन् । राजनीतिक रूपमा शासन प्रणाली बदलिए पनि कार्यशैलीमा पुरानै अवशेष बाँकी छ । त्यसलाई परिवर्तन गर्न मोर्चा बनाएका हौँ ।’
संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, मौलिक हक, नागरिक स्वतन्त्रताजस्ता अधिकारहरू प्रतिगमनकारी शक्ति र तिनका मतियारबाट धरापमा पार्ने प्रयत्न भइरहेको भन्दै उनले त्यसलाई असफल बनाउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि जान मोर्चा बनेको जिकिर गरे ।
बाँकी राजनीतिक उपलब्धि हासिल गर्न जनसंघर्ष र संसद्को माध्यमबाट प्राप्त गर्ने सहमत भएका छौँ ।
उनले वर्तमान संविधानलाई सबैले अपनत्व लिन नसकेको चर्चा गर्दै यसमा रहेका विकृतिलाई संशोधन र परिमार्जनको माध्यमबाट सच्याउँदै बाँकी उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने मोर्चाको उद्देश्य हुने बताए ।