प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संखुवासभाको बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको काम प्राथमिकताको साथ भइरहेको बताएका छन्।
सोमबार नेपाली सेनाको हेलिकाेप्टरबाट बाढीपहिरोग्रस्त क्षेत्र संखुवासभा आएका प्रधानमन्त्री दाहालले बाढी र पहिरोले पूर्वी पहाडी जिल्लाहरू संखुवासभा, ताप्लेजुङ र पाँचथरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित र विस्थापित तत्काल स्थानान्तरण र पुनः स्थापना गर्ने बताए।
प्रभावित क्षेत्रमा बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने तयारीमा लाग्नसमेत सरकार कटिबद्ध रहेको उनले बताए। प्रभावित क्षेत्रमा राहत प्याकेजका लागि प्रधानमन्त्रीलाई अनुरोध र ध्यानाकर्षण गराएको बताउँदै संखुवासभाका सांसद दीपक खड्काले सोहीअनुसार कार्यक्रम आउने बताए। उनले प्रभावित क्षेत्रबारे चिन्तित भएर नै प्रधानमन्त्री अवलोकनमा आएका बताए।
प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधि दीपक खड्का र कोसी प्रदेश सभा सदस्य राजेन्द्र कार्की पनि सहभागी छन्।
अविरल वर्षाका कारण शनिबार राति आएको बाढीपहिरोमा परी जिल्लाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावार कम्पनीमा कार्यरत १८ जना, सभापोखरी २ जना र नुनढाकी एकजना गरी कुल २१ जना बेपत्ता भएका थिए। तीमध्ये हाल एकजनाको शव फेला परेको संखुवासभाका प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए।