चिनियाँ अनुदानमा बनिरहेको चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । भवनको बाहिरी संरचना पूरा भएपछि चिनियाँ ठेकेदार कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप भवन बलियो रहेको र ६५ प्रतिशत काम सकिएको जानकारी दिएको हो ।
साढे तीनतले भवनको बाहिरी संरचना निर्माण सकिएको छ । भित्री काम र फिनिसिङ २०२४ फेब्रुअरीसम्म सम्पन्न हुने निर्माणमा संलग्न चिनियाँ इन्जिनियर गुओ बाओचिङले बताए।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी चाइना चियुयान इन्जिनियरिङ कर्पोरेसनलाई दिएको छ । चियुयान कर्पोरेसनको डिजाइनमा भवन निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुप फिल्डमा खटिरहेको छ ।
३९ बेडको अस्पताल भवनमा ५० भन्दा बढी सानाठूला कक्ष छन् । नयाँ भवनमा अस्पतालको काम सुरु गर्ने समयसम्म ६१ मिलियन आरएमबी खर्च हुने चियुयान कर्पोरेसनका प्रतिनिधि मिस्टर लिउबोले जानकारी दिए । बिरामीका लागि ३९ बेड भवनको पहिलो र दोस्रो तलामा रहनेछन् । सुविधासम्पन्न भवनमा शारीरिक असक्तता भएकाहरूलाई हिँड्ने ओरालो बाटो (र्याम्प), लिफ्ट सिस्टम र अत्याधुनिक उपकरण जडान गरिएको छ ।
विशाल भवनभित्र कन्सल्टिङ रुम तीन, ओपिडि, इमर्जेन्सीसहित तीन, फार्मेसी, काउन्टर, रिसेप्सन, तीनवटा नर्स स्टेसन, अपरेटिङ थिएटर तीन, ल्याब पाँच, उपचार कक्ष पाँच, किचेन–क्यान्टिन दुई, शिशु आहार कक्ष, बहुकार्य कक्ष, लाइब्रेरी छन् ।
त्यसैगरी प्रशासन कोठा पाँच, कन्फ्रेन्स रुम दुई, जेनेरेटर, स्टोर र विभिन्न प्रयोजनका लागि अरू १० कोठा छन् । इन्जिनियर बाओचिङका अनुसार अस्पताललाई आवश्यक सम्पूर्ण सामग्री चीन सरकारले उपलब्ध गराउने छ । ९ सेप्टेम्बर २०२२ बाट निर्माण सुरु गरी नौ महिना पूरा हुँदा ६५ प्रतिशत काम सम्पन्न भएकोमा चिनियाँहरू खुसी छन् । काममा २५ चिनियाँ र ४० नेपाली सहभागी छन् ।
बालुवा, गिटी र सिमेन्टबाहेक फलाम, स्टिल र काठजन्य सामग्री सबै चीनबाटै ल्याइएको छ। २०२४ मार्च ९ सम्म निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने चिनियाँको योजना छ । भवन निर्माण सम्पन्न भएपछि चीन सरकारले सम्पूर्ण मेडिकल उपकरण, फर्निचर, इसिजी, एक्सरे र अटोमेटिक ब्लड एनालाइजर मेसिन पठाउनेछ।