बाढीले सवाखोला लोहाकोट बिजुवापानी आयोजनामा क्षति

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

बाढीका कारण भोजपुरकाे सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत  कुल अनुमानित रु. एघार करोड ११ लाख आठ हजार नौ सय २७ को लागतमा निर्माण भइरहेको  यो आयोजनामा बढीले क्षति पुर्याएको हो।

बाढीले पानी तान्ने ठाउँ सवाखोला किनारमा रहेको ट्यांकी बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ।

चैनपुर नगरपालिका– ११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये सय परिवारले पानी उपभोग गर्न थालेका थिए। खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए।

निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो। ‘सवाखोलामा आएको बाढीले आयोजनाको काममा पूर्ण रूपमा क्षति पुगेको छ,’ प्रमुख सिंहले भने, ‘खोलाकिनारमा रहेका संरचना बगाएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अनुमानित रु. डेढ करोडभन्दा बढीको क्षति भएको अवस्था छ।’

आर्थिक वर्ष ०७५/७६देखि  यो योजनाको निर्माण थालिएको हो। बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए। रासस

सुझावित समाचार