हेवाखोला बाढीपहिरोमा बेपत्ता २२ जनाको पहिचान खुल्यो

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

संखुवासभाको हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ ।  गएराति आएको बाढीले बगाउँदा पाँचखपन– ९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर– ४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

बेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगरपालिका), सुवास राई (संखुवासभा), फैजबहादुर कार्की  (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ  (झापा), रामजतन थारू  (कैलाली), राहुल थारू (बर्दिया), रोहित थारू (बर्दिया), पुलसन थारू (बर्दिया), कालीराम थारू (बर्दिया), राजराम थारू (बर्दिया), सुगत थारू (कैलाली), अमर थारू (कैलाली), सीता थारू (कैलाली) र दीपक मगर (संखुवासभा) छन् । 

त्यस्तै, सभापोखरी गाउँपालिका– ३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई  बेपत्ता भएका छन् ।  चैनपुर नगरपालिका– १ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका– ४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका– ७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारू छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्ड सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका– ४ र पाँचखपन नगरपालिका– ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । 

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घरमा क्षति भएको छ भने अन्य चार घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन  पक्की पुलमा क्षति पुर्याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरी टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडाैँको क्षति भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

सुझावित समाचार