बलिङमा चुक्यो नेपाल

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग आठ विकेटले पराजित भएको छ । आयोजक जिम्बावेको हरारे क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेटको क्षतिमा २९० रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको नोक्सानीमा २९१ रन जोड्दै महत्वपूर्ण २ अंक बटुल्यो । जिम्बावेको जितमा कप्तान क्रेग इर्भिन र सेन विलियम्सले शतकीय योगदान दिए । 

छनोटको समूह ‘ए’मा जिम्बावेविरुद्ध नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाली बलरले निराशाजनक प्रदर्शन गरे । कप्तान इर्भिन र विलियम्सले तेस्रो विकेटका लागि नटआउट एक सय ६४ रनको साझेदारी गर्दा नेपाल ऐतिहासिक जितबाट वञ्चित भएको हो । लक्ष्य पछ्याउँदा जिम्बावे १२७–२ को अवस्थामा थियो । जिम्बावेली ब्याट्सम्यान इर्भिन र विलियम्सले अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नेपाली बलरविरुद्ध प्रस्तुत गरे । 

इर्भिन र विलियम्सले नेपाली बलरविरुद्ध उत्कृष्ट स्ट्रोक मात्र लगाएनन्, फर्कने मौकासमेत दिएनन् । इर्भिनले १२१ तथा विलियम्सले १०२ रन जोडे । इर्भिनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गरे । विलियम्सले ७० बलमा १३ चौका र १ छक्का प्रहार गरेपछि नेपाली बलरको केही सीप लागेन । दुवै ब्याट्सम्यानले समग्रमा २०.५ ओभर साझेदारी गर्दा ७.८७ रनरेटमा ब्याटिङ गरेका थिए । इर्भिन र वेस्लीले दोस्रो विकेटका लागि ८२ को साझेदारी गरे । 

 चलेन नेपालको बलिङ
नेपाली बलर टेस्ट राष्ट्र जिम्बावेविरुद्ध चुकेका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट साझेदारी तोड्न आठ बलर प्रयोग गरे । सोमपाल कामी र गुल्सन झाले नेपाललाई समान १ विकेट दिलाए । जिम्वाबेका अनुभवी ब्याट्सम्यानसँग नेपालका स्पिनर महँगो साबित भए । सन्दीप लामिछानेले १० ओभरमा सर्वाधिक ७७ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ५८ र गुल्सनले ५६ रन बेहोरे । तीव्र गतिका बलर चल्न नसक्दा करण केसीले मात्र ४ ओभर बलिङ गरेका थिए । ५.३ ओभर बलिङ गरेका सोमपाल घाइते भए । 

 कुशल ९९ रनमा आउट
पहिलो ब्याटिङ गरेको नेपालले आफ्नो एकदिवसीय इतिहासमै उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी कुनै पनि विकेटका लागि अहिलेसम्मकै सर्वाधिक रन हो । गत फेब्रुअरीमा भएको आइसिसी विश्वकप लिग २ मा ज्ञानेन्द्र मल्ल र आसिफले नामिबियाविरुद्ध दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

ओपनर भुर्तेल शतक बनाउन १ रनले चुके । दुईपटक जीवनदान पाएका भुर्तेल ९९ रनमा वेलिङटन मासाकाडजाबाट क्लिन बोल्ड भए । भुर्तेल ३१.५ ओभरमा आउट भएका हुन् । एकदिवसीय खेलमा नेपाली ब्याट्सम्यानबाट दोस्रो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाउन उनी १ रनले चुके । भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे । ब्याटिङ इनिङ्समा भुर्तेल दुईपटक आउट हुनबाट जोगिए । ४.१ ओभरमा १ रनमा खेलिरहँदा भुर्तेलको सहज क्याच सिकन्दर राजाले मिस गरेका थिए । १२ रनमा जोड्दा उनी अर्कोपटक क्याच आउटबाट जोगिएका थिए । 

नेपालको ब्याटिङमा आसिफले पनि अर्धशतक बनाएका थिए । उनले सय बलमा ६६ रन जोड्न सात चौका प्रहार गरे । ३३.५ ओभरमा आसिफ छक्का प्रहार गर्ने क्रममा आउट भए । कुशल मल्लले ४१, कप्तान रोहितकुमार पौडेलले ३१ र गुल्सन झाले १३ रन बनाए । नेपालले अन्तिम १८.१ ओभरमा ७ विकेट गुमाएर ११९ रन बनाएको थियो । तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहितले ७२ रनको साझेदारी गरेका थिए । 

सुझावित समाचार