नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन्।
आइतबार बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वैचारिक मोर्चा बनाउन लागिएको बताएका हुन्। निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वाभाविक भएको भन्दै उनले सहमत भएका पक्षहरूलाई समेट्दै जाने उल्लेख गरे।
‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरूलाई मिलाएर लानुपर्दछ भन्ने मान्यता बोकेर नै यो मोर्चाको कुरा ल्याएका छौँ। त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरू आउनुहुन्छ,’ अध्यक्ष नेपालले भने।