नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेतापत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।
‘प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको सरकारी अस्पताल सञ्चालन गर्नु जरुरी छ । अबउप्रान्त सरकारी नेता र नेतापत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीले भन्नु जरुरी छ। ७७ वटै जिल्लाका सरकारी अस्पताललाई उपकरण र जनशक्तिसहित सुविधासम्पन्न र सफासुग्घर राख्ने प्रतिबद्धता जरुरी छ,’ सुवालले भने।
सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न चाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने बताए। शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने तर्क गरे।