बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

संखुवासभाको हेवाखोलामा गएराति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ।

संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर संखुवासभामा भएको क्षतिबारे अवगत गराउँदै क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो।

भेटमा सांसद खड्काले संखुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युतगृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युतगृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराए।  साथै उनीहरूले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए। 

भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए। 

बाढीले पुर्याएको क्षतिबारे  अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले राससलाई जानकारी दिए। प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेश सभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुरेका थिए। 

संखुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।

सुझावित समाचार