जुम्ल्याहा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार आयोजनाले बुटवललाई पर्यटकीय सहरका रूपमा स्थापित गर्नेछ
बुटवल आदिम मानव रामापिथेकसको बंगारा भेटिएको ठाउँ हो । बाइसे–चौबीसे राज्यमा विभक्त पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यको सेन वंशीय राजाहरूको शीतकालीन दरबार भएको स्थान हो, बुटवल । यस्तै, नेपाल–अंग्रेज युद्धमा अंग्रेज सेनालाई परास्त गरी विजय प्राप्त जितगढी किल्ला बुटवलमै पर्छ । पुरातात्विक, सामरिक र रणनीतिक पहिचान बनाएको बटौली, खस्यौली हुँदै एकीकृत बुटवलमा रूपान्तरण भएको धेरै दशक भएको छैन ।
कुनै वेला पहाडी भेगमा उत्पादित घ्यू बिक्री गर्न, वर्षभरिका लागि नुन, तेल, लत्ताकपडा किन्न पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ हुँदै कालीगण्डकी नदीको जलाधार क्षेत्र र राप्ती नदीको जलाधार क्षेत्रभित्रका गाउँबस्तीको मुख्य व्यापारिक केन्द्र बटौली थियो ।
समयको विकासक्रमसँगै बुटवलले आफ्नो रणनीतिक भूमिका परिवर्तन गर्दै जाँदा अंग्रेज सेना हुँदै भारतीय सेनामा भर्ती भएका नेपाली जवान तथा गैरसैनिक क्षेत्रमा भारतका विभिन्न सहरमा रोजगारीको अवसर खोज्दै जाने र त्यहाँबाट फर्कनेमाथि उल्लिखित क्षेत्रका नेपालीहरूको प्रमुख नाकाको रूपमा बदलिन पुग्यो, बुटवल । तिनै प्रवासीहरूलाई लक्षित गर्दै बुटवलमा खोलिएका भट्टीहरू नै वर्तमान समयमा सञ्चालनमा आएका र आउँदै गरेका आधुनिक सुविधासम्मन्न तारे होटेलका आधारस्तम्भ हुन् ।
०३० सालपछि आधुनिक वस्तु र सेवाको उपलब्धतासँगै बुटवलका व्यवसायीको कारोबार र सम्बन्ध भारतका ठूला सहरका अतिरिक्त सोझै उत्पादक कम्पनीसँग पुग्न थालेपछि नेपालका मुख्य सहरहरूमा समेत बुटवलबाट मालसामान पठाउने क्रम वृद्धि हुँदै गयो ।
वस्तु र सेवाको कारोबारसँगै यस क्षेत्रका केही साहसिक व्यवसायीले भारतबाट ल्याउने वस्तुलाई प्रतिस्थापन गर्ने गरी केही साना तथा मझौला उद्योग पनि स्थापना गर्दै गएका थिए । स्थानीय व्यवसायीको उद्योगप्रतिको बढ्दो आकर्षणलाई दृष्टिगत गरी ०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएपछि बुटवलले व्यापारिक केन्द्रबाट क्रमशः औद्योगिक नगरको रूपमा आफ्नो परिचय बदल्दै गयो । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै बजारीकरण गर्न ०४१ सालमा उद्योग वाणिज्य संघ, बुटवलले उपत्यकाबाहिर पहिलो औद्योगिक प्रदर्शनीको आयोजना गर्यो । अहिले देशभर प्रदर्शनी, मेला वा महोत्सव जे भनौँ आयोजना हुँदै आएका छन्, करोडौँको कारोबारसँगै रोजगारी र बजारीकरणमा महत्वपूर्ण भूमिका रहेको छ । यसको श्रेय बुटवललाई दिँदा न्याय नै हुन्छ ।
०७२/७३ सम्म सुदृढ र सबल बुटवल पछिल्लो समय केही हच्किएको छ । ०७२ सालको भूकम्पसँगको भारतको अघोषित नाकाबन्दीले थिलोथिलो परेको देशको अर्थतन्त्रमा ०७६/७७ मा विश्वभर फैलिएको कोरोनाको २ वर्ष अवधि नेपाली अर्थतन्त्र र मानव जीवनका हिसाबले कालो वर्षका रूपमा भावी पुस्ताले सम्झनेछन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनर्संरचनासँगै लुम्बिनी प्रदेशको मुकाम बुटवल स्थापित हुँदा बुटवलवासीले केही न केही राहतको महसुस गरेका थिए । खस्कँदो अर्थव्यवस्थाभित्र पनि केही न केही आर्थिक गतिविधि बढेकै थिए । तथापि, यो समय धेरै टिक्न सकेन । लुम्बिनी प्रदेशको नामकरणसँगै प्रदेशको स्थायी मुकामसमेत राप्ती उपत्यकामा सार्ने प्रदेश सभाको अदूरदर्शी निर्णयले बुटवलको अनुहारमा सदाका लागि खत बसालेको छ । प्रदेश मुकाम सार्ने निर्णयमा समर्थन जनाउने बुटवल र यो सेरोफेरोका जनप्रतिनिधिहरूलाई भावी पुस्ताले समेत सम्झिरहनेछन् र पछिल्लो पुस्ताले त सराप्ने नै छ ।
सबल आर्थिक केन्द्रका रूपमा बुटवललाई पुरानै लयमा फर्काउन यहाँका जुम्ल्याहा केबलकार, निर्माणाधीन पाँचतारे होटेल, वसन्तपुरमा बन्ने क्यासिनोसहितको अर्को पाँचतारे होटेल, तिनाउ नदीमा बन्ने सिग्नेचर पुल, मोतीपुरमा बन्ने औद्योगिक क्षेत्र, सम्मेलन केन्द्र, फराकिला सडक महत्वपूर्ण साबित हुन सक्छन्
विगतका गौरवशाली इतिहासलाई शिरमा राख्दै राजनैतिक वा अन्य जे–जस्ता कारणले भए पनि रोगले थलिएको जवान मानिसजस्तै भएको छ, बुटवल । अब नयाँ शिराबाट बुटवलको समृद्धिको यात्रालाई निरन्तरता दिनु यहाँ क्रियाशील राजनैतिक दल, बुटवलको स्थानीय सरकार, यहाँका व्यावसायिक र सामाजिक संघसंस्था, नागरिक समाजसँगसँगै बुटवलबाट आशा र भरोसा गरेका सबै एक मन भएर लाग्नुपर्ने देखिँदै छ ।
सबल आर्थिक केन्द्रको रूपमा बुटवललाई पुरानै लयमा फर्काउन यहाँ केही आयोजनाहरू महत्वपूर्ण साबित हुन सक्छन् । आयोजना र लगानीसँगसँगै बुटवलवासीको शीलस्वभाव, परिवर्तनलाई आत्मसात् गर्न सक्ने क्षमता पनि बढाउनुपर्ने उत्तिकै जरुरी छ । शिलान्यासको वेला जुम्ल्याहा केबलकारको सहर भनेर चर्चा बटुलेको बुटवलले लुम्बिनी केबलकार (बुटवल–वसन्तपुर २.६ किमि)को औपचारिक उद्घाटनले बुटवलको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान रहने नै छ । यस्तै, बुटवलबाट नुवाकोट जोड्ने सिद्धार्थ केबलकार पनि यसै वर्ष सञ्चालनमा ल्याउने तयारी छ ।
ती ठाउँमा केबलकार मात्र सञ्चालनमा आउँदैनन्, आइएमई समूहले लुम्बिनी केबलकारको टप स्टेसनमा वसन्तपुरमा पाँचतारे होटेल, पूर्ण क्षमताको क्यासिनो, सभाहल, स्काईवाक, पार्क, स्विङलगायत गतिविधिमा करिब पाँच अर्ब लगानी गर्दै छ । जसले छिमकी मुलुक भारतका सहरबाट उल्लेख्य पर्यटक बुटवलमा तान्ने अपेक्षा छ । सिद्धार्थ केबलकारको टप स्टेसन नुवाकोटमा पनि होटेल, पार्कलगायतका गतिविधिमा लगानी गरिँदै छ, जहाँ एक अर्बभन्दा बढी लगानी हुने अनुमान छ ।
जितगढी, रामापिथेक, मणिमुकुन्द उद्यान, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सञ्चालनको पर्खाइमा रहेको बुटवल–नुवाकोट केबलकारले यहाँको व्यापारको स्वरूपलाई परिवर्तन गर्दै छ । बुटवलबाट नजिकै रहेको मोतीपुरमा अर्को औद्योगिक क्षेत्र निर्माणको तयारी भइरहेको छ, जसले बुटवललाई थप औद्योगीकरण गर्न मद्दत पुग्नेछ । बुटवलले औद्योगिक तथा व्यापारिक मात्र होइन, देशकै व्यवस्थित आवासीय सहरको पनि पहिचान बनाएको छ । बुटवलदेखि सुनौलीसम्मको ६ लेनको चौडा सडकले यातायात र ढुवानीलाई धेरै सहज बनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे–चनौटा खण्डमा दुई लेनको सडकलाई विश्व बैंकको सहयोगमा चार लेनमा स्तरोन्नति सुरु भइसकेको छ । यहाँ बसोवास गर्ने ठूलो जनसंख्याको उपभोग्य आम्दानी पनि राम्रो छ । त्यसैले अधिकांश बैंक, अटोमोबाइल, होटेल, रेस्टुराँ, ब्रान्डेड सपलगायत बुटवलमा खुलेका छन् । गुणस्तरीय शिक्षाका लागि काठमाडौं धाइरहनुपर्दैन । स्वास्थ्य सेवामा पनि ठूलो परिवर्तन आउँदै छ । बुटवल उप–महानगरपालिकाभित्र पहिलो पाँचतारे होटेलको निर्माण कार्य धमाधम चलिरहेको छ । यसले पनि बुटवलको भविष्य सुनौलो नै रहेको थप स्पष्ट पार्छ ।
बुटवलको सम्भावना : परिवर्तित सन्दर्भ र सम्भावनालाई दृष्टिगत गरी आफूले गरिआएको पेसा व्यवसायमा परिमार्जन वा परिवर्तन के गर्नुपर्ने हो, त्यसको सूक्ष्म विश्लेषण गरी निर्णय गर्न सके यी अवसरको ठुलो हिस्सा यहीँका स्थानीयका लागि नै प्राप्त हुनेछ । तर, हामीले आफूलाई परिमार्जन वा परिवर्तन गर्न सकेनौँ भने यो अवसर अन्यका लागि हुनेछ । बुटवल र यस आसपासमा रहेका व्यावसायिक संघसस्थाहरूले आफ्ना सदस्य व्यावसायिक प्रतिष्ठानका प्रतिनिधहरूसँग नयाँ अवसर र चुनौतीका बारेमा गम्भीर छलफल चलाएर तत्काल हाम्रो सेवा व्यवसायमा सुधार गर्नुपर्ने कुराहरूको पहिचान गरेर सुधारमा अग्रसरता र अगुवाइ गर्नु जरुरी छ ।
स्थलमार्गबाट पोखरा जाने भारतीय पर्यटकको बसाइलाई बुटवलमा एक रात मात्र रोक्न सके पनि यहाँका होटेलहरू भरिभराउ हुनेछन् । किसानको तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको खपत बढ्न गई जनताले आर्थिक जीवनस्तरमा समेत सुधारात्मक परिवर्तनको अनुभूति गर्न सक्नेछन् । जुम्ल्याहामध्येको अर्को बुटवल–नुवाकोट सिद्धार्थ केबलकार निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा लगानी, अवसर र चुनौती पनि स्वाभाविक रूपमा थपिँदै जाने नै छ । दुईवटा केबलकार सञ्चालनमा आएपछि पर्यटकलाई बुटवलमा एक दिन भए पनि रोक्न सकिने अपेक्षा छ ।
तिनाउ नदीमा बन्ने सिग्नेचर पुल बुटवलको अर्को आकर्षण हुनेछ । विजयको यात्रा सुरु गरेको जितगढी, शीतकालीन दरबार र बुटवलवरपरका पर्यटकीय स्थलले यहाँ विकासको सम्भावना देखाउँछ । कृषि पर्यटन, ग्रामीण पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनको प्रशस्त सम्भावना बोकेको बुटवल लुम्बिनी प्रदेशकै समुन्नत सहर हो भन्नेमा कुनै द्विविधा छैन । लामो समयसम्म व्यापार र उत्पादनमा पहिचान बनाएको बुटवलले सेवा व्यवसायमार्फत पर्यटकीय विश्रामस्थलबाट पर्यटकीय नगरी बुटवलको उपमा पाउने सम्भावना बढेको छ । लुम्बिनी घुम्न आएका पर्यटक एक रात बिताउनका लागि बुटवल आउनेछन् । सिद्धबाबामा बनिरहेको सुरुङमार्गले पनि बुटवल र त्यसआसपासको क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन थप सहयोग गर्ने नै छ । त्यसैले स्थानीय आर्थिक विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने गरी आजैबाट र आफूबाटै परिमार्जन र परिवर्तनलाई आत्मसात् गरौँ ।
इतिहासमा कहिल्यै नहारेको र हार्न नजानेको बुटवलले नाकाबन्दी, कोरोना कहर र प्रदेश मुकामको स्थानान्तरणले पराजयको अनुभूति गरेको छ । यद्यपि, बुटवलको सेरोफेरोमा लागेको धुलो टकटकाएर बुटवललाई अपराजित बुटवल बनाउन र इतिहासको नुनतेलको बजारदेखि पछिल्लो समयको आर्थिक केन्द्रका रूपमा पुनः स्थापित गर्न नेतृत्व, बुटवलवासी, व्यावसायिक संघसंस्था, प्रतिष्ठानले होस्टेमा हैँसे गर्ने वेला हो ।
अहिले निदाएर बसे भविष्यमा उठ्न सकिनेछैन । व्यक्तिगत र राजनीतिक स्वार्थ त्यागेर बुटवलको समग्र विकास र आर्थिक उन्नतिमा सरोकारवाला जाग्नुपर्ने अवस्था छ । व्यावसायिक क्षेत्रका संघसंस्था पनि बुटवलको विकासमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले पुरानो गुल्जार बुटवलको पहिचान गुम्न दिनुहुँदैन र गुम्नेवाला पनि छैन ।
(अर्याल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष एवं उद्योग वाणिज्य संघ, बुटवलका पूर्वउपाध्यक्ष हुन्)