रुकुमपूर्वको भुमे गाउँपालिकाले आयोजना गरेको ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फको उपाधि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ का भुवन ओलीले जितेका छन्। महिलातर्फ भने सोलुखुम्बुकी अनिता राई विजेता बनेकी छिन्।
निर्धारित ५२ किलोमिटर दूरी ६ घण्टा ८ मिनेट ९ सेकेन्डमा पार गर्दै ओली पुरुषतर्फ प्रथम भएका हुन् । झिनो अन्तरले पछि परेका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ कै अर्जुनकुमार बस्नेत दोस्रो भए। उनले निर्धारित दूरी ६ घण्टा ८ मिनेट १९ सेकेन्डमा पार गरे । ओली र बस्नेतका बीचमा जम्मा १० सेकेन्डको फरक परेको ट्रेल रेस सञ्चालनका लागि सहयोग गरेको युवा विकास केन्द्र भुमेका कोषाध्यक्ष बेदना बुढामगरले जानकारी दिइन् ।
पुरुषतर्फ भुमे ३ का शक्तिराम रोका निर्धारित दूरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो हुँदा ६ घण्टा २३ मिनेट १ सेकेन्डमा दौड पूरा गर्दै थवाङ १ रोल्पाका मनकुमार रोकामगर चौथो बने। पुरुषतर्फ २५ धावकले भाग लिएका थिए ।
महिलातर्फ निर्धारित ५२ किलोमिटर दूरी ८ घण्टा १५ मिनेटमा पार गर्दै सोलुखुम्बुकी अनिता राई प्रथम भइन् । ९ घण्टा १० मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै भुमे गाउँपालिका वडा नम्बर ८ की सोनिका खड्का द्वितीय, १० घण्टा १५ मिनेट २ सकेन्डमा दूरी पार गर्दै भूमु ६ की अनिता बुढामगर तृतीय भइन्। महिलातर्फ ९ धावकले प्रतिस्पर्धा गरेका थिए।
महिला र पुरुषतर्फको पुरस्कार समान रहेको छ । विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार पाएका छन्। पाँचौंदेखि दशौँ स्थानसम्म हासिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार पाएका छन्।
भुमे गाउँपालिका वडा नम्बर ६ को महतबाट सुरु भएको दौड ऐतिहासिक गाउँ रोल्पाको थवाङ, जलजला, मारिङ हुँदै वडा नम्बर २ को खाबाङ बगर पुगेर सम्पन्न भएको थियो।
१० किलोमिटरतर्फ आकाश र प्रिया प्रथम
यसैबीच १० किलोमिटरतर्फ पुरुषमा भुमे–२ जंगाधाराका आकाश रोका मगर र महिलामा भुमे–२ खाबाङका प्रिया पुनमगर प्रथम भएका छन् । १० किलोमिटरको तेस्रो संस्करणको गुुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ प्रथम भएका रोका मगरले निर्धारित दूरी १ घण्टा १२ मिनेटमा पार गरे । महिलातर्फ विजेता मगरले निर्धारित दूरी १ घण्टा ४३ मिनेटमा पूरा गरिन्।
पुरुषतर्फ १ घण्टा १४ मिनेटमा दूरी पार गर्दै भुमे–६ का रामकुमार बुढामगर दोस्रो, १ घण्टा १४ मिनेट ३० सेकेन्डमा दूरी पार गरेर भुमे–१ लुकुमका हिराधन घर्ती मगर तेस्रो र १ घण्टा १५ मिनेटमा दौड पूरा गरेर पुथाउत्तरगंगा गाउँपालिका–१४ का कुमार पुनमगर सान्त्वना भएका आयोजक भुमे गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, महिलातर्फ १ घण्टा ४७ मिनेटमा निर्धारित दूरी पार गरी भुमे–२ खाबाङकी सम्झना बुढामगर दोस्रो भइन्। निर्धारित दूरी १ घण्टा ४९ मिनेटमा पार गरेर भुमे–६ महतकी सुप्रिया बुढामगर तेस्रो र २ घण्टा ९ मिनेटमा दूरी पार गरी भुमे–६ महतकी सुनथामी बुढामगर सान्त्वना भइन्।
पुरुषतर्फ २५ र महिलातर्फ १२ जनाले प्रतिस्पर्धा गरेका थिए। महिला पुरुषको पुरस्कार राशि समान रहेको छ । प्रथमले १० हजार, द्वितीयले ७ हजार ५ सय, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार ५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र पाएका छन् । पाँचौँदेखि दशौँ स्थान हासिल गर्ने प्रतियोगीले प्रतिव्यक्ति १-१ हजारसहित प्रमाणपत्र पाएका छन् ।
दौड भुमे–६ महतबाट सुरु भई सेबाङपो–सानोलेक–कोइचा–खाबाङ तिला–मारिङ–खाबाङ गाउँ हुँदै खाबाङ बगरमा आएर सकिएको थियो । दौडको जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।