सहरी विकासमन्त्री सीता गुरुङले बागमती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छिन्। उनले सरकारले बागमतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसका लागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन्।
शनिबार काठमाडौंको गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र बागमती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरुङले भनिन्, ‘बागमतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ । तर, बागमती अझै सङ्लो भइसकेको छैन। नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ । त्यसैले बागमती सफाइका लागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ।’
उनले बागमती सफाइका लागि लामो समयदेखि स्वयंसेवीे अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन् । मन्त्री गुरुङले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन् ।
‘घरघरबाट निस्किएको ढल त्यतिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र बनाइएको हो। यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,’ उनले भनिन्, ‘यसले बागमतीमा मिसिँदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ। त्यसकारण सरकारले थप सातवटा यस्तै प्रशोधन केन्द्रहरू बनाइरहेको छ।’
मन्त्री गुरुङले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाइका लागि थप मद्दत पुग्ने बताइन्। हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २० लाख लिटर पानी प्रशोधन हुँदै आएको छ।