रुसले आणविक हतियार बेलारुस पठायो

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएका छन्। सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका द हिलले उल्लेख गरेको छ।

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ। बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले ‘रुसबाट बम र मिसाइलहरू’को पहिलो भाग प्राप्त गरेको बताएका छन्।

‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन्, जुन हामीले रुसबाट प्राप्त गरेका छौँ। बमहरू हिरोसिमा र नागासाकीमा खसालिएका भन्दा तीन गुणा बढी शक्तिशाली छन्,’ लुकासेन्कोलाई उद्धृत गर्दै फक्स न्युजले उल्लेख गरेको छ। 
  
हतियारको आगमन युक्रेनी सेनाले रुसविरुद्ध ठूलो मात्रामा काउन्टर–अपरेसन सुरु गरेको एक हप्तापछि भएको हो। यसैबीच फिनल्यान्ड यस वर्षको अप्रिल ४ मा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एटलान्टिक सन्धिमा प्रवेश गर्ने आफ्ना उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ।

सुझावित समाचार