भारतीय सडक विस्तारले नेपालतिर वर्षेनी क्षति

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

घटना– १
२०७८ जेठ २५ मा पनि व्याँस गाउँपालिकाका दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तार गर्ने क्रममा गराएको विस्फोटले चट्टान खसेर नेपालतर्फको बाटो भत्किएको थियो। दुम्लिङबाट करिब दुई सय मिटर उत्तरतर्फको घोरेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै व्यास जाने बाटो अवरुद्ध भएको थियो ।

भारतले सडकको ट्रयाक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।

घटना– २
०७८ सालमा भारतले सडक निर्माण गर्ने क्रममा पारिबाट वारि ढुंगा उछिट्टिँदा दार्चुलाको व्याँस गाउँपालिकाको कल्जुका हिक्मतको घरको छानो भत्कियो, एउटा गाई मर्यो। हिक्मत भन्छन्, ‘सीमा क्षेत्रमा पटकपटक हामीमाथि भारतले यस्ता घट्ना दोहोर्याइरहेको छ। महाकालीवारि हाम्रो घर छ । सडकबाट आएको ढुंगा सीधै घरमा पर्दा मानवीय क्षति हुनबाट जोगिए पनि भौतिक क्षति र पशु चौपाया क्षति भयो। अहिले पनि हाम्रो गाउँमुनि महाकालीको तलाउ बनेको छ । कुन दिन कटान गरेर गाउँ सखाप गर्छ।’

घटना– ३
०७९ भदौ महिनामा भारतीय सडक निर्माणको क्रममा पहिरोमा परी तीनजना नेपाली घाइते भए । व्याँस गाउँपालिका– २ का जयलाल ओड, सुकरिब धामी, धीरनसिंह धामी र दिनेश धामी घाइते भए। जयलालले भारतको पिथौरागढमा उपचार गराए भने धीरनले  धनगढीमा । उनीहरूले निर्माण कम्पनीबाट कुनै प्रकारको क्षतिपूर्तिसमेत पाएनन् । उनीहरुको बारेमा त्यति आवाज नउठ्दा आफ्नै खर्चमा उपचार गरेर फर्किएका व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकी बताउँछन्।

घटना– ४
२०७९ कात्तिक १२ मा भारतले धारचुला–तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विष्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्याँस गाउँपालिका २, दुम्लीङका ९ वर्षीय पवन महराले ज्यान गुमाए । सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा पवनको ज्यान गयो । भारतीय सडक निर्माणको जिम्मा पाएको गर्ग एन्ड गर्गले मृतक परिवारलाई गल्ती स्वीकार गर्दै ०७९ कात्तिक १३ गते १६ लाख रुपैयाँ क्षतिपूर्ति दियो।

♦♦♦

सीमा क्षेत्रमा भारतले गर्ने निर्माणका क्रममा नेपाली नागरिकले भोग्नुपरेका केही प्रतिनिधि घटना हुन् यी। भारतले अहिले धारचुला–तावाघाट–लिपुलेक सिंगल लेन सडकलाई डबल लेन बनाउँदै छ । यसले नेपालतिरको गोरेटो बाटो र बस्ती डुबान पनि सँगसँगै गर्दै छ । भारतले गर्ने सडक विस्तारका कारण नेपालतिर वर्षेनी डुबान र क्षति पुर्याउँदै आएको छ ।

व्याँस गाउँपालिका–२ दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा भारतीय सडक विस्तारको क्रममा विस्फाेट गराउँदा महाकाली नदीमा ढुंगा थुप्रिएर नेपालतिर डुबान गरेको छ। कल्जु र तम्बाकु क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको छ । यो क्षेत्रमा नेपालतर्फको गोरेटो बाटोको निशानसमेत मेटिएका छन्।

महाकाली नदीले पुरानो गोरेटो बाटो डुबान गरेपछि अहिले नदीभन्दा झण्डै एक सय मिटर गोरेटो बनाउनु परेको छ। सडक निर्माणमा विस्फाेटक पदार्थको प्रयोग भारतले अत्यधिक गर्यो । त्यहाँका चट्टान सबै महाकाली नदीमा थुप्रिएर तलाउ बने । बाटो पूर्ण रूपमा ढाक्यो । 

अहिले पनि कल्जु क्षेत्रका बस्ती नै जोखिममा हुने गरी महाकाली नदी थुनिएका छन् । नदीमा ढुंगा थुप्रिएर तलाउ बनेको छ । तलाउमाथि नेपालतिरका बस्ती छन् । नदीमा तलाउ बनेकै कारण अहिले स्थानीय त्रसित छन् ।

०६० सालअघि नेपालतिरै राम्रो गोरेटो बाटो थियो । कैलाश दर्शन गर्न भारतीय पर्यटक नेपालकै बाटो प्रयोग गर्थे। तर, अहिले नेपालतिरको बाटो अवरुद्ध छ । ‘ठाउँठाउँमा भारततर्फबाट सडक निर्माणको क्रममा आएका ढुंगाले परम्परागत बाटोको निशानसमेत देखिँदैन,’ स्थानीय पूर्वाधार विकास आयोजनाका इन्जिनियर किशोर विष्टले भने, ‘पुरानो गोरेटो बाटोको निशान नभेटिएपछि धेरै ठाउँमा गोरेटो बाटो घुमाएरमाथि लानुपरेको छ।’

भारतले सडक निर्माणको क्रममा नेपालतिरको बाटो क्षति गरेको विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई समेत जानकारी गराइ सकेको उनले बताए । ‘हामीले गोरेटो बाटो बनाउने क्रममा नेपालतर्फ क्षति भएको विषय जानकारी गराएका छौँ,’ उनले भने, ‘ठूलाठूला चट्टान नदीमा फसेका छन्।’

प्रमुख जिल्ला अधिकारी किरण जोशी भारतीय सडकले नेपालतर्फको गोरेटो बाटो क्षतिबारे नेपाली सेनामार्फत जानकारी लिने काम भएको बताउँछिन्। अहिले भारतीय सडक विस्तारको काम निरन्तर चलिरहेको हुँदा तत्काल समाधान गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

सुझावित समाचार